तस्करीको एक ट्रक प्याज बरामद

रौतहटमा सशस्त्र प्रहरीले एक ट्रक तस्करीको प्याज नियन्त्रणमा लिएको छ। सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा चोरी तस्करी गरेर बाराको कचोर्बा र रौतहटको बंकुल नाका हुँदै रौतहट भित्र्याइएको एक ट्रक तस्करीको प्याज सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतीय बजारबाट तस्करहरुले साइकल र मोटरसाइकलमा करिब १७० बोरा तस्करीको प्याज रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ७ डुमरियास्थित गाउँमा भण्डारण गरेर ट्रकमा लोड गरिरहेको अवस्थामा बरामद गरेको हो।

नेपाली बजारमा प्याजको अभाव भएर मुल्य अकासिएपछि भारतीय बजारबाट राजस्व नै छलेर प्याजको तस्करी भइरहेको छ। सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्याज बरामद गरेपछि जिल्लाको विभिन्न नाकाहरुबाट प्याजको तस्करी भइरहेको पुष्टि भएको छ।

भारतीय बजारबाट तस्करी भएका प्याजलाई तस्करहरुले ना२ख ६३०४ नम्बरको ट्रकमा करिब ८५ लोड गरेर राजधानीतर्फ लैजादै गरेको विषेश सुचनाको अधारमा सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख रबिनराज कार्णजितको कमाण्डमा खटिएको टोलीले प्याज सहितका ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्याजले भरिएको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि तस्कर समूहले स्थानीय गाउँका सर्वसाधरण महिलाहरुलाई उचालेर प्याजले भरिएको ट्रक लैजान अवरोध खडा गरेका थिए। स्थानीयहरु तस्करीको प्याज लैजानमा रोक लगाएपछि जिल्ला भरीबाट सायौको संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर समान्य बल प्रयोग गरेपछि तस्करहरु प्याज र ट्रक छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ।

ट्रकसहित प्याजको मुल्य करिब ३३ लाख ५० हजार कायम गरी आवश्यक कारबावीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक एसपी रविनराज कर्णजितले बताएका छन्। फरार भएका तस्करीको खोजी कार्य भइरहेको समेत सशस्त्र एसपी कर्णजितले बताए।

जिल्लाको विभिन्न खुल्ला नाकाहरुबाट अहिले खुलेआम तस्करी भइरहेको छ। बकुल, औरैया, मठिया, रामपुरखाप, नरकटिया, बन्जरहा, महादेवपटी, गौर, बेलविछवा, ब्रह्मपुरी लगायतका नेपाल भारत सीमा क्षेत्रको खुल्ला नाकाहरुको सुरक्षा जिम्मा बसेका मातहतका सुरक्षाकर्मीको मिलोमतोमा नेपालबाट छुहरा, मटर, केराउ, सुपारी, अलाइची, चाइनिज कस्मेटिक समानका साथै विभिन्न ब्राण्डका रक्सी भारततर्फ तस्करी भइरहेको छ। भारतीय बजारबाट नेपालतर्फ कपडा, इलेक्ट्रोनिक, कस्मेटिक, दाल, चामल, तयारी कुखुरा र चल्लाल गायतका माल समाग्रीको तस्करी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले करिब ८ महिनामा ११५ जना बढी अवैध कारोवार गर्ने र विभिन्न अपराधिक पुष्टि भुमिका मानिसहरुलाई समेत पक्राउ गरी करिब चार करोड भन्दा बढीको तस्करीको माल समान बरामद गरी अवश्यक कार्यवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए। मातहतका कर्मचारीहरुलाई तस्करी रोक्न स्पष्ट निर्देशन दिएको समेत उनले बताए।