कांग्रेसको सबै भ्रातृ संगठन कमजोर अवस्थामा

काठमाडौं । लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो मूलमन्त्र बनाएको नेपाली कांग्रेसको सबै भ्रातृसंगठन कमजोर अवस्थामा पुगेका छन् ।

कांग्रेसका १३ भ्रातृसंस्थामध्ये नेपाल महिला संघ, नेपाल मुस्लिम संघ र नेपाल मगर संघले मात्र निर्धारित समयमा महाधिवेशन सम्पन्न गरेका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले महाधिवेशन गरेको भए पनि उनीहरूसमेत हाल कमजोर अवस्थामा पुगेका छन् । हाल नेविसंघ नेतृत्वविहीन अवस्थामा छ भने तरुण दलले समेत चार जनाको नेतृत्वमा नै सोमबारबाट तीन वर्षे म्याद गुजारेको छ ।

यी बाहेकका अन्य भ्रातृसंस्थाले निर्धारित समय गुजारेको लामो समय बितिसक्दा पनि महाधिवेशन गर्न सकेका छैनन् । कांग्रेसका तीन भ्रातृसंस्था नेपाल किसान संघ र नेपाल आदिवासी÷जनजाति संघले १५ वर्षदेखि महाधिवेशन गर्न सकेका छैनन् ।

यस्तै, भूतपूर्व सैनिक संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र राष्ट्रिय लोकतान्त्रिक अपांग संघले १० वर्षदेखि र नेपाल दलित संघले ७ वर्षदेखि महाधिवेशन गरेका छैनन् ।

यस बीचमा नै नयाँ भ्रातृसंगठन दर्ताका लागि कांग्रेस केन्द्रीय कार्यालयमा निवेदन परेको छ । नयाँ दर्ताका लागि निवेदन दिनेहरूमा पार्टी नेपाल थारु संघ, नेपाल राष्ट्रिय धिमाल संघ, नेपाल लोकतान्त्रिक निर्माण संघ, नेपाल तमु गुरुङ संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल इसाई संघ रहेका छन् ।

यसैगरी, शुभेच्छुक संस्थाको लागि निवेदन दिनेहरूमा नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, राष्ट्रिय पर्यटन व्यवसायी संघ, लोकतान्त्रिक होटल व्यवसायी संघ, नेपाल लोकतान्त्रिक व्यापार संघ, लोकतान्त्रिक गैरसरकारी संघ, स्थानीत तह कर्मचारी युनियन, भाषा साहित्य संघ नेपाल, नेपाल आदिवासी क्षेत्री महासंघ, नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपाल, लोकतान्त्रिक सांसद स्वकीय सचिव संघ र नेपालको अपरेटिभ संघ छन् ।

हालको कांग्रेसमा १३ भातृसंस्था छन् भने नेपाल शिक्षक संघ र नेपाल प्रेस युनियनसहित ३९ वटा शुभेच्छुक संस्था छन् । पार्टीले शुभेच्छुक संस्थाका रूपमा १७ वटा संस्थालाई मान्यता दिएको भए पनि त्यसबाहेक नेपाल ट्रेड युनियन कांग्रेसमातहतका २५ संगठित संस्था छन् । राजधानी दैनिकले खबर छापेको छ ।