मन्त्रिपरिषद् फेरबदल हुनै लाग्दा उपेन्द्र यादव किन दिल्ली पुगे ?

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद फेरबदलको तयारी गरेपछि उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक नयाँदिल्ली गएका छन् ।
मन्त्री यादव अचानक दिल्ली पुगेपछि अनेक थरी अड्कल बाजी हुन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत गएको जनाएको छ ।

सो कार्यक्रममा उपसचिवस्तरको अधिकारी जाँदा पनि हुने भएकोले उपप्रधानमन्त्री समेत रहेका मन्त्री यादव किन गएका होलान् भन्ने चर्चा सर्वत्र चलेको छ ।

उक्त कार्यक्रमको अवधि तीन दिनमात्र रहने भएपनि यादव एक सातासम्म भारतमै रहनेछन् । उनको भ्रमणलाई राजनीतिक रुपबाट हेर्न थालिएको छ ।

मन्त्री यादव यति बेला राजनीतिक रुपमा चुनौतीको चाङमा छन् । पार्टीको हालै सम्पन्न संघीय परिषद् र केन्द्रीय समिति बैठकले सरकारमा रहिरहने वा फिर्ता हुने भन्ने सवालमा निर्णय गर्ने जिम्मेवारी पदाधिकारीहरूलाई नै दिएको छ ।

पदाधिकारी बैठकनै नबसालेर मन्त्री यादव नयाँदिल्ली पुगेका हुन् ।

यादव नयाँदिल्लीमा राजनीतिक भेटघाटको प्रयासमा रहेको स्रोतले जनाएको छ ।

उनले व्यक्तिगत सम्पर्कको आधारमा नयाँदिल्लीमा सत्तारूढ भाजपा नेताहरूसंग भेटघाटको प्रयास गरिरहेको स्रोतले जनाएको छ ।

सत्तारूढ भाजपाका नेताहरू मन्त्री यादवसहित समाजवादी पार्टीका अर्का अध्यक्ष डा।बाबुराम भट्टराईप्रति अझै सशंकित भएका छन् ।

भारतको जम्मू–कश्मीरमा हटाइएको धारा ३७० प्रति नेपालमा सबैभन्दा पहिले विरोध गर्नेमा समाजवादी पार्टी नै थियो ।

समाजवादीका अध्यक्ष भट्टराईले ट्वीट गरेर १७ पटक आफ्नो विरोध जनाएका थिए । अहिले भारतले जारी गरेको नक्शामा समाजवादी पार्टीका विद्यार्थी संगठनले सबैभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए।

भारतीय दूतावास अगाडि भारतको नक्शा जलाउनेदेखि लिएर मोदीको फोटोमा जुता चप्पलले हानेर विरोध प्रदर्शन गर्ने समाजवादी पार्टी नै रहेको सूचना लैनचौरले राखेको छ ।

समाजवादी पार्टीको पछिल्लो गतिविधिबारे अवगत रहेका भाजपाका शीर्ष नेतृत्वले यादवमाथि पटक्कै विश्वास गरेका छैनन् ।

यी नै क्रियाकलापबारे सफाई दिन र आफू भारत विरोधी नभएको विश्वास दिलाउन भारत भ्रमणमा गएका हुन् ।

पछिल्लो पटक समाजवादी पार्टी भारतभन्दा पनि चीन तिर ढल्केको जानकारहरू बताउँदै आएका छन् ।

चिनियाँ दूतावासको दबाबमा आफ्ना सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गर्नु र पाकिस्तानी दूतावासद्वारा आयोजित भारत विरोधी कार्यक्रममा आफ्ना केन्द्रीय सदस्य रेखा यादवलाई पठाएर समर्थन गरेको समाचार बाहिरिएपछि भारतीय संस्थापन पक्ष मन्त्री यादवसंग निकै चिढिएको छ ।