कोरोना अपडेट : विश्वभर कोरोना सङ्क्रमित २ करोड बढी, ७ लाख ४६ हजारको मृत्यु

पेरिस– महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर सात लाख ४६ हजारको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा बढी देखिएका मुलुकमा संयुक्तराज्य अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसियासमेतका मुलुक रहेका छन् ।

संयुक्तराज्य अमेरिकामा ५३ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने ब्राजिलमा ३१ लाख, भारतमा २३ लाख, रसियामा नौ लाख, दक्षिण अफ्रिकामा पाँच लाख ६६ हजार, मेक्सिकोमा चार लाख ९२ हजार, पेरुमा चार लाख ८९ हजार तथा कोलम्बियामा चार लाख १० हजार सङ्क्रमित छन् ।

कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएका नागरिक पनि संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी छन् । पछिल्लो विवरण अनुसार अमेरिकामा हालसम्म एक लाख ६७ हजार, ब्राजिलमा एक लाख तीन हजार, भारतमा ४६ हजार, रसियामा १५ हजार, मेक्सिकोमा ५४ हजार, दक्षिण अफ्रिकामा १० हजार, पेरुमा २१ हजारको मृत्यु भइसकेको छ ।

युरोपेली मुलुकमा पछिल्ला दिनमा भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । यद्यपी युरोप महादेशमा कूल सङ्क्रमितमध्ये दुई लाख सात हजारको मृत्यु भइसकेको छ ।

भाइरस फैलिनेक्रम तीब्र रहेको दक्षिण अमेरिकी महादेशमा हालसम्म एक लाख ६३ हजार, एसियामा एक लाख १३ हजार, उत्तर अमेरिकामा दुई लाख ३८ हजार, अफ्रिकामा २४ हजारको ज्यान गएको छ ।