बारामा मजदुर र प्रहरीबीच झडप, प्रहरीले चलायो गोली

बारा । बारामा मजदुर र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीले गाेली चलाएकाे छ ।

जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले गाेली चलाएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको बताउनुभयाे ।

झडपमा परी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, प्रहरी निरीक्षक राजकिशोर साह तेलीलगायत १० जना प्रहरी कर्मचारी घाइते भएका छन् ।

उनीहरुको सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जको गण्डक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

उद्योगमा दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच भनाभन भएपछि झडपकाे अवस्था सिर्जना भएकाे हाे ।

झडप हुन सक्ने भन्दै उद्योग परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका थिए । दिउँसो साढे ३ बजे वार्तामा कुरा नमिलेपछि स्थिति तनावपूर्ण बनेको हो ।

प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत ५ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ । झडपमा संलग्न रहेको आरोपमा ७ जना मजदुर पक्राउ परेका छन् ।