दशैँसम्मै पानी पर्ने मौसमविदको भनाई

काठमाडौं । यस वर्षको मनसुन दशैंसम्मै रहने मौसमविदहरूले बताएका छन् ।

यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । घटनास्थापना १२ गते र टीका २१ असोजमा परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने देखिएको छ ।

दशैंको सुरुवाती दिनसम्मै मनसुन रहने पक्का भएकाले पानी पर्ने खतरा मौसमविदहरुले औंल्याएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘दशैंका अन्य दिनहरूमा पानी पर्छ कि पर्दैन भनेर अनुमान गर्न भने अबको एक साता कुर्नुपर्छ ।’

मौसम पूर्वानुमान महाशाखासँग लामो समयको मौसमी प्रक्षेपण गर्ने प्रविधि छैन । उसँगको प्रविधिले एक साताको मात्रै मौसमी आकलन गर्न सक्छ ।

दशैंको सुरुवाती दिनपछि मनसुन रहने या बाहिरिने भन्नेबारे अहिले नै यकिन गर्न नसकिने भएकाले त्यसपछिका दिनको मौसम कस्तो हुन्छ भन्नेबारे भने मौसमविद्ले केही बताएका छैनन् । दशैंको विशेषता घमाइलो मौसम भए पनि यस वर्ष त्यस्तो रौनकता नहुने अनुमान मौसमविदको छ ।

दशैंमा पानी पर्ने प्रक्षेपण गरेका मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरूले अबका ३ दिन देशभर बदली भई वर्षा हुनसक्ने सम्भावना छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवास्पयुक्त हावाको प्रभाव रहेकाले त्यसबाट वर्षा हुनसक्ने मौसमविदको भनाइ छ ।

‘मनसुनी गतिविधिमा केही दिनदेखि सक्रियता देखिएकाले अबको ३ दिन बदली नै हुने देखिन्छ । शनिबारसम्म पानी पर्छ । आक्कल झुक्कल घाम लागे पनि मौसम दशैं लागेजस्तो हुँदैन’, मौसमविद् अर्यालले भने ।

नेपालमा सामान्यतया जून १० बाट मनसुन सुरु भएर सेप्टेम्बर २३ सम्म रहन्छ । तर, पछिल्ला केही वर्षयता ढिलो गरी बाहिरिँदै आएको मनसुन यस वर्ष अझैसम्म सक्रिय नै छ । दक्षिण एसियाको नेपाल, भारत, पाकिस्तानलगायतको ठूलो क्षेत्रलाई ओगटेर मनसुन सक्रिय हुने भएकाले भित्रिने र बाहिरिने समयमा अन्तर आएको हुनसक्ने मौसमविद बताउँछन् ।

‘नेपालमा सामान्यतः जून १० बाट मनसुन सुरु भएर सेम्टेम्बर २३ सम्ममा बाहिरिनु पर्ने हो’, मौसमविद् अर्याल भन्छन्, ‘तर दक्षिण एसिया भारत, पाकिस्तान, बंगलादेशलगायतका ठूलो क्षेत्र ओगटेर नेपालमा सिजनल मौसमी गतिविधि हुने भएकाले यसमा तलमाथि भएको हुनसक्छ ।’