बेपत्ता भएको ११ दिनपछि सम्पर्कमा

मेलम्ची– यही वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका छन् । जिल्लाको बलिफी गाउँपालिका–४ घर भएका सुरज अहिले आफ्नो फोन सम्पर्कमा आएको वडाध्यक्ष कालिप्रसाद तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार सुरजले आठ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने भएको बताएका छन् । सुरजको जिउ, आँखा सबै रातो भएको गाह्रो भएको सुनाएको तामाङले जानकारी दिनुभयो । सुरज अहिले रसुवाको दुप्चेश्वर गाउँपालिका–१ स्थित सूर्यकुण्ड भन्ने स्थानमा रहेको बताइएको छ । उक्त ठाउँ चार हजार ७०० मिटर उचाइमा रहेको र हिउँ परिरहेकाले उद्धार गर्न कठिन भएको वडाअध्यक्ष तामाङले बताए ।

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनमा कार्यरत सुरज बेपत्ता भएका थिए । वैशाख ६ गते दिउँसोसम्म परिवारको सम्पर्कमा रहेका लामाको त्यसयता परिवारसँग सम्पर्क भएको थिएन । लामो समय परिवारसँग सम्पर्क टुटेपछि गत शुक्रबार बेलुकी कम्पनीसँग कुरा भएपछि मात्र सुरजको खोजी गरिएको थियो ।

कोरोना भाइरसका कारण देश लकडाउन भएपछि कम्पनीलाई जानकारीनै नदिई उनी काम छाडेर घर हिँडेको बताइएको छ । सुरज त्यहाँ केही महिनाअघि स्थापना भएको कम्पनीको मेसमा कुकको रूपमा कार्यरत थिए । कम्पनीका अनुसार उनी गोसाइँकुण्डको बाटो हुँदै घर गएको खुलेको थियो ।

विदेशबाट फर्किएकाको परीक्षण

रोजगारी र विभिन्न प्रयोजनमा विदेश गई फर्किएकामध्ये सिन्धुपाल्चोकमा एक तिहाइको मात्र स्वास्थ्यजाँच गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार चैत महिनामा विदेशबाट जिल्लामा ३६३ जना फर्किएकामा हालसम्म १२० जनाको स्वास्थ्यजाँच गरिएको छ । यी सबैको र्यापिड डायग्नोस्टिक टेस्ट (आरटीडी) गरिएको हो

यसैगरी जिल्लाभित्र रहेका मुस्लिम समुदायका ८८ मध्ये ५३ को परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले जानकारी दिए । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यसैबीच नेपाल इञ्जिनीयरियर्स एशोसिएशन वाग्मती प्रदेश र सिन्धु इञ्जिनीयरिङ समाज नेपालले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई कोरोना भाइरसको स्वाब सङ्कलन तथा परीक्षणका लागि स्वाब संकलन बुथलगायत आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

लकडाउन उल्लङ्घन गर्ने सवारीबाट २७ हजार राजस्व

सरकारले गरेको लकडाउन उल्लङ्घन गरेका सवारीसाधनबाट सिन्धुपाल्चोकमा एक महिना अवधिमा रु २७ हजार राजस्व सङ्कलन भएको छ । लकडाउनको बेला विनाकागजात सवारी चलाउनेलाई कारबाही गरिएको प्रहरीले बताएको छ । त्रिचालीस मोटरसाइकलबाट रु २३ हजार ५००, दुई बसबाट रु एक हजार ५०० र दुई वटा कारजीपबाट रु दुई हजार राजस्व सङ्कलन गरिएको छ । लकडाउन उल्लङ्घन गरी सवारी चलाउने चालकलाई ट्राफिक कारबाही गरी छोडिएको छ ।