पीसीआर नेगेटिभ भएकालाई मात्र काठमाडौं उपत्यका प्रवेश

काठमाडौं– काठमाडौं उपत्यका प्रवेश गर्न कोरोना संक्रमण परीक्षणमा पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । र, पीसीआर रिपोर्ट अनिवार्य रुपमा नेगेटिभ भएकाहरुलाई मात्र प्रवेशको अनुमति दिइने व्यवस्था लागू भएको छ ।

‘अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ’ आदेशमा भनिएको छ ।

अब नाकाहरुमा उपत्यका प्रवेश गर्नेहरुको पीसीआर रिपोर्ट खोजिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवायए सहभागी हुनुपर्नेजस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ । प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं आउनेसँग पनि अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ ।

अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सार जाँचपास गरी आएका मालबाहक सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी काठमाडौंलाई उपत्यका प्रवेश गर्न पाउनेछन् । तर ती सवारी साधनका ड्राइभर र सहयोगी अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।