नक्कली लालपुर्जा बनाएर सरकारी जग्गा बिक्री गर्ने पक्राउ

कैलाली । सरकारी छाप किर्ते गर्ने एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाल रहेका छन् ।

उनी २०६५ सालमा जिल्ला मालपोत कार्यालय बर्दियामा कार्यरत हुँदा बर्दियामा रहेको नेपाल सरकारको नाममा रहेको जग्गालाई किर्ते लालपुर्जा बनाइ विभिन्न मानिसबाट आर्थिक लाभ लिएका थिए । २०७३ साल मंसिर ३० गतेको जिल्ला अदालत बर्दियाको फैसलाले उनलाई ३ वर्ष ५ महिना कैद तोकेको थियो ।

त्यसता फरार रहेका उनी आफ्नै घरमा लुकीछिपी बसेको सूचनाको आधारमा प्रहरी पक्राउ गरी सोमबार नै आवश्यक कारवाहीका लागि कैलाली जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

त्यस्तै, मोबाईल चोरीमा संलग्न ३ जना जनालाई पनि प्रहरीले प्रकाउ गरेको छ । टीकापुर नगरपालिका–२ बस्ने वर्ष १९ का सन्देश बिकसहित अन्य २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

गत भदौ ११ गते टीकापुर नगरपालिका–४ स्थित बलिराम थारुले सञ्चालन गरेको मोबाइल ग्यालरीबाट चोरी गरी उनीहरु भागेका थिए । प्रहरी टोलीले अनुसन्धान गर्दे जादा उनीहरुको साथबाट मोबाईल ८ थान र चोरी गर्न प्रयोग हुने औजार बरामद गरेको थियो । उनीहरुलाई चोरी शीर्षकमा मुद्दा दायर गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।