पहिरो खस्दा नरायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । लगातारको वर्षापछि पहिरो खस्दा नारायणगढ(मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

बुधबार राति पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।

ट्राफिक प्रमुख भट्टका अनुसार राति लेदोसहित पहिरो खसेको हो । सोही स्थानमा बुधबार दिउँसो ४ः३० बजे पहिरो खसेको थियो। पहिरो पन्छाए साँझ ७ बजेपछि खुला भएको सडक पुनः पहिरोले पुरिएको हो ।

त्यसैगरी पृथ्वी राजमार्गको नारायणगढ–नौबिसे सडकखण्ड भने एकतर्फी खुलेको छ । उक्त सडकखण्डको कुरिनटारमा आएको पहिरो पन्छाएर बुधबार रातिबाट सडक एकतर्फी सञ्चालनमा आएको हो ।

लगातार पानी पर्न थालेपछि नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ।