रोनाल्डोविना युभेन्टस विजयी

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको युभेन्टसले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले डाइनामोमाथि २–० को जित निकालेको हो ।

युभेन्टसको जितका लागि दुबै गोल अल्भारो मोराटाले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमो दोस्रो हाफमा युभेन्टसका लागि मोराटाले दुबै गोल गरेका थिए ।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै युभेन्टसले खेलमा अग्रता लिएको थियो । ४६ औं मिनेटमा मोराटाले गोल पोस्ट नजिकैबाट गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । त्यस्तै ८४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गरे ।

उनले जुआन कउड्राडोको पासमा गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाए ।  जितसँगै युभेन्टसले च्याम्पियन्स लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ । समूह जीमा रहेको युभेन्टसले पहिलो खेल डाइनामोलाई पराजित गर्दै समूहमा तीन अंक जोडेको छ ।

यस्तै समूह एफको अन्तर्गत भएको खेलमा क्लब ब्रुगे विजयी भएको छ । जेनिटको घरेलु मैदानमा भएको खेलमा ब्रुगेले २–१ को जित निकाल्दै च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको हो ।