सेन्चुरी बैंकको अध्यक्षद्वारा ६ करोड हिनामिना

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठद्वारा करिव ६ करोड रकम हिनामिना भएको तथ्य प्राप्त भएको छ ।

बैंकका अध्यक्ष श्रेष्ठ र तात्कालिन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जिवन भट्टराई मरिसस गएर एम एन्ड एम रेमिटबाट बैंकलाई रकम पठाउन लगाई यता बैंकबाट भुक्तानी गर्नसमेत लगाएका थिए । तर, रकम उतै हराएको छ ।

मरिससमा बसेका नेपालीले आम्दानी गरेको रकम बैंकमार्फत पठाउन लगाएर अध्यक्ष श्रेष्ठ र बैंकका केही सञ्चालकहरुको मिलेमतोमा श्रेष्ठकै नाममा कम्पनी रजिष्ट्रर कार्यालयमा दर्ता रहेको ‘राम्रो रेमिट’ प्रा.लि.नामक रेमिट्यान्समा ५ लाख ८२ हजार २ सय ६५ डलर रकम पठाई बैंकलाई अप्ठ्यारोमा पारेको तथ्य श्रोतले दिएको छ ।

स्रोतका अनुसार बैंकमा पैसा आउनुभन्दा अगाडि नै अध्यक्ष श्रेष्ठ मरिसस गएर एम एन्ड एम रेमिटका सञ्चालक मनिषराज पन्तसँग सेटिङ मिलाई पैसा बैंकमा नहालि आफैँले रेमिट्यान्स कम्पनी खोली उक्त रकम आफ्नै रेमिट्यान्समा पठाएका हुन् । बैंकको पैसा हिनामिना गर्ने कार्यमा बैंकका अध्यक्षका ज्वाई नाता पर्ने रमेशकुमार श्रेष्ठको पनि मिलेमतो रहेको स्रोतले बतायो ।

यति लामो समयसम्म पनि जनताको रकम बैंकका सञ्चालकहरु मिलेर हिनामिना गर्दासमेत नेपाल राष्ट्र बैंकले किनारा लगाउन नसक्नु अर्को दुःखद पक्ष बनेको छ । उक्त विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालसँग कुरा गर्दा यस विषयमा कुनै जानकारी नरहेको भन्ने गैह्र जिम्मेवार जवाफ दिएर उम्कन खोजेका छन् । यसै सन्दर्भमा हालका डेपुटी गभर्नर बम बहादुर मिश्र तात्कालिन समयमा विदेशी बिनीमय विभागमा कार्यरत रहँदा छानविनका लागि सिआईबीलाईसमेत पत्राचार गरेको पाईएता पनि थप केही उपलब्धि हासिल नभएको पाइयो ।

बैंकको सञ्चालक पनि आँफै अनि आफ्नै बैंक धरासायी बनाउनेगरी आर्थिक हिनामिना गरेपछि बैंकका केही सेयर सदस्यले आजित भएर सञ्चालक समितिमा छानबिनको लागि पत्र लेखेपछि अध्यक्ष श्रेष्ठलाई थप कठिनाई आइपरेको छ ।

उपरोक्त सम्बन्धमा सेन्चुरी कमर्सियल बैंक लिमिटेडले एमएम रेमिटसँग गरेको रेमिट्यान्स कारोबारमा बैंकलाई करिब छ करोड व्यवस्था गर्नु परेपछि तात्कालीन नायव प्रमुख कार्यकारी अधिकृत जिवन भट्टराईसमेतको संलग्नतामा रहेको आधारमा नेपाल राष्ट्र बैंकले जिवन भट्टराईलाई कारवाही गर्न सेन्चुरी बैंकको संचालक समितिलाई २०७६ साल असारमा नै निर्देशन दिएको र कारवाही अगाबै नीजले राजिनामा दिएका छन् । तर, यति लामो अवधि बितिसक्दा समेत संचालक समितिले बैंकको रकम उठाउन नसक्नु तथा पहल नगर्नुको कारण के हो ? बैंकको क्षति साथै बैदेशिक मुद्रा अपचलन जस्तो अति महत्वपूर्ण विषयको सम्बन्धमा संचालक समितिले मध्यस्तकर्ता मात्र नियुत्ति गरी प्रायः मौन रहने कारण के ? किन सञ्चालक समितिले व्यवस्थापनसँग यस विषयमा प्रगति विवरण बारम्बार माग गरेन र किन एम एण्ड एम रेमिटलाई पत्रचार गर्नेतर्फ पहल गरेन ?

बैंकका सञ्चालक मध्येका राजेश श्रेष्ठ, हालका सञ्चालक रणबहादुर श्रेष्ठ तत्कालिन रेमिट प्रमुख राजेश श्रेष्ठका साथै अन्य कर्मचारी समेत मिलेर राम्रो रेमिट प्रा. लि. दर्ता गरी २०७३ साउन १६ गते कारोबार सञ्चालन गरेका थिए । राजेश श्रेष्ठको ४५ थान नीजि २५ लाख भुक्तानी गरेर बाँकी २० लाख मनिषराज पन्तको सासुको खाताबाट भुक्तानी भएको देखिन्छ । सञ्चालक तथा अध्यक्ष राजेश श्रेष्ठ र जिवन भट्टराई मरिसस गएर मनिषराज पन्तको पाँचतारे होटलमा बसी बैंकका उच्च पदाधिकारीसँग मिली रेमिट सञ्चालनको योजना बनाएको तथ्य प्राप्त भएको छ ।

यस विषयमा हामीले बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठसँग कुरा गर्दा केही नबोल्ने र बैठकमा व्यस्त भएकोले कुरा पनि गर्न नभ्याउने बताए ।