हात्तीबाट इलाम चुलाचुलीका बासिन्दा त्रसित

दमक (पास)– इलामको दक्षिणी चुलाचुली गाउँपालिकाको केही वडामा एक सातादेखि जंगली हात्तीले उपद्रो मच्चाउँदै आएपछि गाँउले त्रसित बनेका छन् ।

जंगली हात्तीले चुलाचुलीस्थित बुकुवाका घर भत्काउने साथै अन्नबाली नष्ट गरी दिएपछि त्यस क्षेत्रका वडावासी त्रसित भएका हुन् । चुलाचुलीका– वडा नं ४, ५ र १ का १० घर हात्तीले भत्काएपछि हात्ती पीडित विचल्लीमा परेको गाउँपालिकाका कार्यकारी अधिकृत छविलाल खतिवडाले बताए । त्यसमध्ये वडा नम्बर १ मा भने हात्तीले थौरै क्षति पु¥याएको छ ।

वडा नम्बर ५ का हात्तीपीडित ललितकेन्द्र राईको घर पटकपटक हात्तीले आक्रमण गरी भत्काई दिएपछि केही दिनदेखि उनका परिवार छिमेकीकामा आश्रय लिएर बसेका छन् । उनले हात्तीले घरमा नै क्षति पु¥याएपछि बस्न सकिने अवस्था नरहेको दुखेसो व्यक्त गरे । उनले भने, ‘घर बनाउन पैसा छैन, यस्तो जाडोमा कतिञ्जेल यसरी आश्रित हुने ?’

जंगली हात्तीले त्यहाँका ललित केन्द्र, मनु राई, नेत्रप्रसाद बाँस्कोटाको घर बुधबार भत्काइदिएको थियो । वडा नम्बर ४ का नरबहादुर भुजेलको घरमा राखेको धान, कोदो र तोरी खाइदिएको गाउँपालिकाको उपाध्यक्ष निर्मला दाहालले जानकारी दिइन् ।

त्यस्तै, वडा नम्बर ५ का तुलसी पौडेल, खेमनाथ अधिकारी, गणेश लिम्बू, सुमन लिम्बू, चन्द्रकुमार लिबाङ र मानबहादुर लिबाङको हात्तीले पूरै घर भत्काई दिएको छ । जंगली हात्तीको आक्रमणले किसानले लगाएको बाली नष्ट गरेर निरास तुलाउनुको साथै बसाइँ सर्ने अवस्थामा पुगेको वडा नम्बर ५ का अर्का हात्ती पीडित नेत्रप्रसाद बाँस्कोटा दुखेसो सुनाउँछन् । उनले भने, ‘हात्तीले गर्दा यस टोलका बासिन्दा अन्यत्र सर्नुपर्ने अवस्था आएको छ ।’

जंगली हात्तीको तत्काल नियन्त्रणको माग चुलाचुलीवासीले गरिरहेका छन् । हात्तीले गरेको विनाशको अवलोकन गर्न गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राई नेतृत्वको टोलीले बिहीबार हात्तीले भत्काएको घर र किसानले लगाएका बाली क्षतिको अवलोकन गरेको हो । टोलीमा अध्यक्ष राई, इलाका वन कार्यालय र कृषि सेवा शाखा कार्यालय चुलाचुलीका प्रमुख र प्रतिनिधि सहभागी थिए ।