प्रम हुरीबतास प्रभावित क्षेत्रमा, राहत तथा उद्धारमा समस्या हुन नदिने

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुगेका छन् । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै गएका हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिए । प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिए ।

गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँगसमेत आग्रह गरेक छन् ।

त्यसैगरी प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गरेका छन् । उनीसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि थिए । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका डा सचेन्द्रकुमार यादवले उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी गराएका थिए । आइतबार साँझ ७ः३० बजेतिर आएको हुरीबतासबाट सबभन्दा बढी बारा जिल्लामा धनजनको क्षति भएको छ । बारामा मृतकको सङ्ख्या २८ पुगेको तथा पर्सामा एक जनाको मृत्यु भएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । अहिलेसम्म क्षतिको पूर्ण विवरण आउन नसके पनि घाइतेको सङ्ख्या बढ्न सक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।

प्रधानमन्त्रीको उक्त टोली पर्साको वीरगञ्जस्थित नारायणी उपक्षत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि गृह सचिव प्रेमकुृमार राईले हावाहुरीबाट व्यापक जनधनको क्षति भएको बारा जिल्लाको फेटा गाउँपालिका–७ पुरैनिया गाउँको स्थलगत निरीक्षण गरेका थिए । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीले पनि सो ठाउँको निरीक्षण गरेका थिए । कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिसमेतले बुझी घाइतेको उपचारमा राज्यले कुनै कसर बाँकी राख्न हुँदैन भने ।