ग्राहकसँग महिनाभरिको पैसा असुलेर आफूखसी च्यानल बन्द

काठमाडौं– उपभोक्तासँग टेलिभिजन प्रसारणको रकम अग्रिम रुपमा असुलेर केबल टेलिभिजन प्रसारकले विदेशी च्यानल प्रसारणमा रोक लगाएका छन् ।

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्त रूपमा विदेशी च्यानल प्रसारणमा रोक लगाउँदा उपभोक्ता मारमा परेका छन् । विदेशी च्यानलमा ‘क्लिन फिड’ लगाउने (विज्ञापनरहित बनाउने) व्यवस्थाप्रति केबल टिभी सञ्चालकहरूको विरोध छ । तर, शुल्क तिरेर हेरिने विदेशी च्यानल विज्ञापनरहित हुनुपर्ने अन्तर्राष्ट्रिय प्रचलन नै छ ।

वस्तु तथा सेवाको बजार प्रवर्द्धन तथा बिक्री वितरण गर्न सेवाको प्रचारका लागि गरिने विज्ञापन तथा त्यससम्बन्धी व्यवसायलाई नियमन गर्न भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ पुस ०७५ मा राष्ट्रिय सभामा विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले २ माघमा राष्ट्रिय सभामा प्रस्तुत गरेको विधेयकमाथि २५ माघदेखि संसदीय समितिले दफावार छलफल थालेको थियो । समितिले विधेयकसम्बन्धी प्रतिवेदन ८ चैतमा राष्ट्रिय सभामा पेस गरेको थियो । राष्ट्रिय सभाले १० चैतमा पारित गरेको विधेयक हाल प्रतिनिधिसभामा छलफलकै क्रममा छ ।

प्रतिनिधिसभामा विचाराधीन विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकको प्रस्तावित व्यवस्थाको विरोधमा उनीहरुले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण बन्द गराएको खबर नयाँ पत्रिकामा खबर छ ।