‘विप्लव समूहले गर्‍यो वार्तामा आउने निर्णय’, बल सरकारको कोर्टमा

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको अर्को खबर पनि कान्तिपुरले छापेको छ ।

एक साताअघि विप्लव समूहको बैठक बसेको र त्यसले सरकारबाट लिखित पत्र पाए वार्तामा बस्ने निर्णय गरेको कान्तिपुरको दाबी छ ।

कान्तिपुरका अनुसार, नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले बताएका छन् । ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो । पत्र पठाएन’, ती स्थायी समिति सदस्यको भनाइ कोट गर्दै कान्तिपुरले लेखेको छ, ‘यसपटक पार्टीले वार्तामा बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमान्दार भएर आउनु पर्छ ।’

वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी पनि ती नेताले दिएको कान्तिपुरले लेखेको छ ।