विदेश जाने ६२.६८ प्रतिशतलाई ‘कन्ट्र्याक पेपर’मै झुक्याईन्छ

काठमाडौं– रोजगारदाताले रोजगारीमा जानेलाई करारपत्रमा समेत झुक्याउने गरेको पाइएको छ ।

श्रम स्वीकृतिमा गई फर्केका ६२.६८ प्रतिशतले आफूलाई पहिला भनिएको भन्दा तलब, काम, ओभरटाइम, खाना वा करारका कुनै न कुनै सर्त फरक भएको बताएको ‘आप्रवासी कामदारहरूको अधिकारको अवस्था ः आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँच’ विषयको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

आयोगको अनुसन्धानबाट एकभन्दा बढी करारपत्र दिने अभ्यास रहेको पाइएको उल्लेख गरिएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई व्यक्तिगत एजेण्टले मध्यस्थता गर्ने गरेको उल्लेख गरिएको छ । जसले गर्दा एजेण्टमार्फत वैदेशिक रोजगारमा जाने युवाले थप समस्या बेहार्नु परेको प्रतिवेदनमा बताइएको छ ।

एजेण्टले अनौपचारिक तवरले प्रशस्त मात्रामा कामदार तेस्रो मुलुकमा रोजगारीमा पठाउने गरेको अनुसन्धानमा क्रममा आयोगले पत्ता लगाएको छ । प्रतिवेनदमा खासगरी महिलालाई ‘अहिले काठमाडौँको एअरपोर्टबाट जान पाइँदैन’ भनेर भारतको बाटोबाट खाडी मुलुक र इराकमा लगेको देखिएको उल्लेख छ । युरोप र अमेरिका लगिदिने भनेर ठूलो रकम असुल्ने तथा अलपत्र पार्ने गरेका घटना पनि देखिएका प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी प्रतिवेदनमा ५७.१८ प्रतिशतलाई आफू ठगिएका बारेमा तथा उजुरी गर्ने निकायका बारेमा थाहा नभएको बताइएको छ । २५.८४ प्रतिशतले भने उजुरी गर्ने निकायका रूपमा सम्बन्धित देशको दूतावासका नाम लिएका थिए । आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त प्रतिवेदन सार्वजनिक गर्दै आप्रवासी कामदारको मानवअधिकार हननसमेत भइरहेको बताए ।

उनले आप्रवासीलाई न्यायको पहुँच पु¥याउन राज्यका सबै निकाय लाग्नुपर्नेसमेत बताए । उक्त कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले आप्रवासीका समस्यामध्ये मानवअधिकारको समस्या ठूलो रहेकाले रक्षा गर्नुपर्ने बताए । आयोगका अर्का सदस्य मोहना अन्सारीले राजनीतिक दलले पनि वैदेशिक रोजगारदातामा संलग्न भएकाले वैदेशिक रोजगारका नाममा मानव बेचबिखन गर्ने गरेका बताए ।

यसैगरी आयोगका सदस्य सुदीप पाठकले आप्रवासी र तिनका परिवारको मानवअधिकारका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताए । वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्म भुसालले सबैसँग समन्वय गरेर मर्यादित श्रम बनाउन लागिरहेको बताए ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले वैदेशिक रोजगारलाई कडाइका साथ चेकजाँच गर्ने बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तनाले आफू पनि वैदेशिक रोजगार ऐन संशोधन गरेर वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने पक्षमा रहेको बताए ।