१२ किलोग्राम सुनसहित दुई जापानी पक्राउ

ढाका– बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तरराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजश्व अधिकारीले बताएका छन् ।

मलेसियाबाट बङ्गलादेश पुगेका दुई जापानी नागरिकलाई उक्त सुनसहित बिहीबार पक्राउ गरिएको हो ।

बङ्गलादेश राजश्व अनुसन्धान निर्देशनालयका उप¬–निर्देशक पायल पाशाले सिन्ह्वासँग भने, “ राजश्व विभागले उनीहरूले सुनसहित प्रवेश गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट जफत गरिएको १२ किलोग्राम (३० थान सुनका टुक्रा) को मूल्य बिहीबारको बजार मूल्य अनुसार छ करोड बङ्गलादेशी टाका (सात लाख १४ हजार अमेरिकी डलर बराबर) रहेको उप–निर्देशक पाशाले बताए ।

“जापानी नागरिकहरूले हजरात शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलको हरियो गेट पार गर्ने क्रममा पाइन्टको खल्तीमा लुकाइराखेको अवस्थामा उक्त सुन जफत गरिएको छ,” उनले बताए ।

भन्सारले उनीहरूलाई बङ्गलादेशी प्रहरीको जिम्मा लगाइसकेको बताइएको छ ।

स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर बङ्गलादेशी आपराधिक गिरोहहरूले गैरकानुनी रूपमा ठूलो पैमानमा सुन, विदेशी मुद्रा, लागुऔषध तथा प्रतिबन्धित औषधिहरू भित्र्याउने गर्छन् । सिन्ह्वा