महराको बयानः पुरानो चस्मा देखाएर फसाउन खोजियो

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले असोज १२ गते उनको घरमै नगएको बयान दिएका छन्।

आइतबार प्रहरीलाई दिएको बयानमा महराले आफू रोशनीको घर नजिकसम्म मात्र पुगेको तर घरभित्र भने नगएको जिकिर गरेका छन्।

प्रहरी स्रोतका अनुसार महराले रोशनीको घर नजिक पुगेर फोन गर्दा उनको फोन नउठेपछि आफू त्यहीबाट फर्किएको बयान दिएका छन्।

रोशनीलाई भेट्न किन जान लाग्नु भएको थियो भन्ने प्रहरीको प्रश्नमा महराले भनेका छन्, ुआफूहरूबीच दिउँसोदेखि झगडा परेको, त्यसैले भेट्न जान लागेको थिए।ु

रोशनीको घरमा भेटिएको भाँचिएको चस्माको खुट्टा तपाईंको होरु भन्ने प्रहरीको प्रश्नमा उनले आपसमा बाझिने जवाफ दिएका छन्।

प्रहरी स्रोतका अनुसार सुरूमा उनले भने, ुमेरो चस्मा लगाएकै छु, त्यो चस्मा मेरो हैन।’

तर केहीबेर पछि उनले आफ्नो पुरानो चस्मा देखाएर फसाउने षड्यन्त्र गरिएको पनि बताए।

असोज १२ गते महरा रोशनी शाहीको डेरा नजिक भेटिएको सिसी टिभीको फुटेज प्रहरीले संकलन गरेको छ।

सो फुटेज प्रधानमन्त्रीलगायत नेकपाका नेताहरूले पनि हेरेका छन्।

त्यही फुटेजका कारण महराले आफूलाई जोगाउन रोशनीको घर नजिक पुगेको तर भित्र भने नछिरेको बयान दिएका हुन्।

प्रहरीसँग महरा घरभित्रै छिरेको फुटेज छैन भन्ने आधारमा महराले यस्तो बयान दिएका हुन्।

शाहीको घरबाट असोज १४ प्रहरीले उनले लगेको रक्सीको बोतल, शाहीसँगको घम्साघम्सीमा महराको भाँचिएको चस्माको खुट्टा, उनको जुत्ताको तलुवा लगायतका प्रमाण संकलन गरेर लगेको थियो।

महराले भाँचिएको त्यही चस्माको खुट्टा आफ्नो पुरानो चस्माको भएको बताएका हुन्।

आइतबार नै उनको बयान सकिएको छ। यो घटनाको थप अनुसन्धान गर्न र मुद्दा तयार गर्न प्रहरीलाई अदालतले बुधबारसम्मको म्याद दिएको छ।

असोज १२ गते साँझ संसद सचिवालयकी कर्मचारी शाहीले तीनकुनेस्थित आफ्नो डेरामा आएर महराले आफूलाई बलात्कार गर्ने कोशिस गरेको र नमान्दा कुटपिट गरेको भन्दै उजुरी प्रहरीमा गरेकी थिइन्।

घटना भएको १ घण्टामै प्रहरी उनको कोठामा पुगेर उनको शरीरमा लागेका घाउचोट र बयान रेकर्ड गरेर फर्किएको थियो।

घटनाको भोलिपल्ट मिडियामा सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टीले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न भनेको थियो।

उनले सभामुखबाट राजीनामा दिए पनि सांसदबाट दिएका छैनन्।

शाहीले पछि प्रहरीमा गएर महराले बलात्कार गर्न खोजेको र नमान्दा पिटेको भन्दै लिखित जाहेरी दिएकी थिइन्। उनको जाहेरीका आधारमा महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको हो।