मध्यविन्दु अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि

नवलपुर । नवलपरासीपूर्वी कावासोतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालका एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि जिल्ला अस्पतालल नै सिल गर्ने तयारी गरिएको छ ।

कावासोती नगरपालिका १६ का ४० वर्षीय पुरुष केही दिनअघिदेखि बिरामी भएर जिल्ला अस्पताल भर्ना भएका थिए । उनीसँगै आकस्मिक कक्षमा अन्य बिरामीहरु पनि छन् । ज्वरो आएर अस्पताल भर्ना भएका ती ब्यक्तिलाई अस्पतालका सबै चिकित्सकहरुले हेर्दै आएका थिए ।

अन्य बिरामीसरह नै उपचार भइरहेका ती बिरामीको २ दिनअघि स्वाब लिएर परीक्षणका लागि चितवन पठाइएको थियो । शुक्रबार बिहान आएको रिपोर्टमा ती ब्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि बिहानै अस्पतालको आइसोलेशनमा सारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईँले बताए ।

कोरोना पोजेटिभ देखिएका कावासोती नगरपालिका १६ डण्डा निवासी ती ब्यक्ति स्थानीय ब्यापारीसमेत हुन् । उनलाई संक्रमण देखिएपछि अस्पतालमा ओपीडी सेवा र भर्ना बन्द गरिएको छ । शुक्रबार १ जना संक्रमित थपिएसँगै नवलपरासीपूर्वमा कोरोना संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।