पाँच महिने बालकसहित थप ५२ जनामा संक्रमण

चितवन । चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो ।

बुधबार नै गरिएको परीक्षणमा अरू ५१ जनामा पनि संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका भित्रका मात्रै १४ जना छन्। रत्ननगर नगरपालिका वडा नम्बर ४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन्। उनीहरू रत्ननगरका क्वारेन्टिनमा रहेका थिए।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरका १६ जनामा संक्रमण पुष्टि भएको छ भने बाँकी १० जना रत्ननगरका ४, नवलपुरका ३, सर्लाहीका २ र तनहुँका १ जना रहेका छन् ।