एजेन्सी । अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ सोविक चक्रवर्तीको जमानत याचिकाको आज सेसन अदालतमा सुनुवाइ भइरहेको छ ।
मजिस्ट्रेट अदालतले आवदेन खारेज गरेपछि रियाका वकिल सतिश मनेसिन्देले सेसन अदालतमा जमानतका लागि आवेदन दिएका थिए । रियाका वकिलले, सेसन कोर्टमा चलिरहेको सुनुवाइमा अभिनेत्रीले दबाबमा आएर बयान दिएको भनेका छन् ।
जमानतको आवेदनमा रियालाई एनसीबीमा बयान दिन बाध्य बनाएको भन्दै दाबी गरिएको छ । आवेदनमा लेखिएको छ, “रियाले कुनै अपराध गरेको छैन र उनलाई यसमा झुटो आरोप लगाइएको छ ।”
रिया अहिले भायखला जेलमा छिन् र उनी भिडियो कन्फरेन्सको माध्यमबाट मजिस्ट्रेट अदालतको सुनुवाइमा सामेल भइरहेकी छिन् । उनलाई बुधबार एनसीबीको जेलबाट उता लगिएको थियो । एनसीबीको जेलमा रियालाई एकरात राखिएको थियो ।
रियाले एनसीबीले गरेको तेस्रोपटकको सोधपुछमा सुशान्तका लागि ड्रग्स किन्ने गरेको र आफूले पनि गाँजा सेवन गरेको हुन सक्ने कबुल गरेकी थिइन् । साथै उनले भाइसँग ड्रग्स मागेको च्याट पनि एनसीबीले अनुसन्धानमा भेटेको हो । रिया र उनका भाइलाई एनबीले लागुपदार्थ सेवन र ओसारपसारमा संलग्न भएको मामलामा पक्राउ गरेको हो ।