पल शाहलाई फेरि सतायो पुरानो कुराले

काठमाडौं– पछिल्लो समय चलचित्र क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल युवा नायक हुन्, पल शाह । उनले हालसम्म थुप्रै म्युजिनक भिडियो र चलचित्रमा आफ्नो प्रस्तुती दिइसकेका छन् । शायद बिरल्लै होलान् उनको अभिनय मन नपराउने युवा दर्शक । ‘नाई नभन्नू ल– ४’ बाट चलचित्रमा डेब्यु गरेका थिए । जुन चलचित्रमा अभिनेत्री तथा सहयात्रीका रूपमा आँचल शर्माले साथ दिएकी थिइन् । त्यसपछि सुरु भएको दुई जोडीको यात्रा ‘जोनी जेन्टलम्यान’ हुँदै ९ चैत प्रदर्शनको तरखरमा रहेको ‘शत्रु गते’ सम्म आइपुगेको छ ।

यसरी दुवैजना एकपछि अर्को फिल्ममा सँगै देखिनुले पनि बजारमा यी दुई गहिरो प्रेममा रहेको चर्चा हुनु स्वभाविक नै हो र रंगिन दुनियाँमा यस्लाई सामान्य रूपमा अथ्र्याइन्छ । यद्यपि उनीहरूले आफूहरू एकअर्काका एकदमै मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् । यसकारण दुवैले एकैसाथ यस्तो भनेपछि, बाहिर पल र आँचलको बारेमा सामान्य बन्दै गएको छ । तर, उनीहरूबीचको चर्चा सामान्य बन्दै गएको बेला अर्को प्रसंगले फेरि चर्चा बटुल्न थालेको छ । जस्ले दुवैलाई ठूलै तनावमा पारेको पनि सुनिन आएको छ ।

खबरप्राप्त भएअनुसार, पल आफूलाई आएको प्रोजेक्टमा अभिनेत्री आँचललाई सिफारिस गरिरहेका छन् । आँचललाई त्यसमा भूमिका दिइएन भने फिल्म रद्ध गर्ने सम्मका पनि खबर बाहिरिएपछि फेरि दुई जोडीको विषले बजार तातेको हो । तर, यस विषयमा सोधपुछ गर्दा पलले त्यो कुरा सत प्रतिशत गलत भएको बताउँदै उनले आजसम्म कुनै पनि फिल्ममा आँचललाई सिफारिस नगरेको बताउँछन् । त्यसो त उता आँचल पनि यो कुराले आफूलाई दुखित तुल्याएको बताउँछिन् । र, उनी आफू कुनै चलचित्रमा अभिनय गर्नपूर्व ‘क्यारेक्टर’ छनोट नगरी चलचित्र खेल्न मञ्जुरी नभएको जिकिर गरिन् ।

तर, पल र आँचल दुवै फिल्म ‘शत्रु गते’ बाट निकै आशावादी देखिन्छन् । दुवै जना आफूहरूले उक्त चलचित्रमा राम्रो प्रस्तुती दिएको पनि बताउछन् । अर्कातिर चलचित्रमा चर्चित हास्य कलाकारको जम्बो टिम नै समावेश भएकाले पनि चलचित्र डुब्छ कि भन्नेमा कुनै शंका उत्पन्न भएको देखिँदैन । निर्देशक प्रदीप भट्टराईद्वारा निर्देशित उक्त चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्कीको भूमिका रहेको छ । चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको छ ।