मन्त्री पदबाट हटाइएपछि लालबाबुको यस्तो प्रतिक्रिया

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट जिम्मेवारीमुक्त गरिएका नेकपा नेता एवं सांसद लालबाबु पण्डितले मन्त्री हटाउने र राख्ने प्रधानमन्त्रीको स्वविवेककको कुरा भएको बताएका छन् । प्रधानमन्त्रीय प्रणालीमा राम्रोरनराम्रोको कुरै नहुने उनले टिप्पणी गरे ।

‘प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले जसलाई उपयुक्त देख्नुहुन्छ उसलाई राख्नुहुन्छ, त्यहाँनेर राम्रोरनराम्रोको प्रश्न उठ्दैन,’ आफूले गरेका कामप्रति कुनै पश्चाताप नरहेको भन्दै पण्डितले भने, ‘हरेक दिन भन्ने गरेको छु, मैले कुनै गलत कार्य गरेको छैन । मैले गरेको कामको मर्ने बेलासम्म पनि जस–अपजसको भारी बोक्न तयार छु ।’

मन्त्रीबाट जिम्मेवारीमुक्त गराइएपछि बिहीवार लोकान्तर डटकमलाई प्रतिक्रिया दिँदै पूर्वमन्त्री पण्डितले संघीयता कार्यान्वयको जटिल काम आफूले पूरा गरेको बताए । कर्मचारी समायोजनका क्रममा केही व्यक्ति असन्तुष्ट रहेको उनले बताए ।

‘मेरो जिम्मेवारी नै सबैभन्दा कठिन थियो– संघीयता कार्यान्वयनको । त्यसमा पनि सरकारको तीनवटै तहको संरचना बनाउनुपर्ने थियो, त्यसमा कर्मचारीहरूलाई कामको जिम्मेवारी दिँदै व्यवस्थापन गर्दै जानुपर्ने थियो ।

यसमा व्यक्तिगतरूपमा कोही कर्मचारी रिसाउन सक्छन्, कोही व्यक्ति पनि रिसाउन सक्छन्, किनभने समायोजनमा उनका मान्छे आफूले भनेअनुसार नहुन सक्छ ।

मैले त सफ्टवेर प्रणालीको प्रयोग गरेको हो,’ पण्डितले भने, ‘त्यसले गर्दा प्रधानमन्त्रीज्यूले अझै राम्रो रिजल्ट निकालौंला भनेर नयाँ क्याबिनेट बनाउनुभएको छ भने शुभकामना बाहेक के भन्ने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर गर्दै पण्डितले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा हृदयेश त्रिपाठीलाई दिएका छन् ।