सडक अभावका कारण पर्यटकलाई सास्ती, नेपाल भ्रमण वर्ष २०२० कर्णालीका लागि चुनौती

कर्णाली प्रदेशमा पर्यटनका लागि राम्रो सम्भावना भए पनि सबै ठाउँमा सडक पहुँच नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती भएको छ । यस क्षेत्रमा शे–फोक्सुण्डो ताल, नेपाली भाषाको उद्गमस्थल सिंजा, रारा, सुलिगाड झर्ना, जाजरकोटको दरबार, शिवालय क्षेत्रलगायतका क्षेत्रमा सहजरूपमा सडक पहुँच नहुँदा पर्यटकलाई समस्या हुँदै आएको हो । शुरु हुँदै गरेको नेपाल भ्रमण वर्ष २०२० कर्णालीका लागि सडक चुनौती बनेको छ ।

यहाँका पहाडी र हिमाली क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र सडकको पहुँच बाहिर हुँदा भ्रमण वर्ष कर्णालीका लागि चुनौती बनेको हो । साँघुरा तथा निकै जोखिमपूर्ण मात्र नभई धुलाम्मे सडकका कारण पर्यटकले दैनिक सास्ती भोग्दै आएका छन् । जाजरकोट हुँदै डोल्पाको शे–फोक्सुण्डो जाने पर्यटकले दुनैबाट तालसम्म पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । एक सय १८ किलोमिटर सडकमा आठ ठाउँमा सवारीसाधन बदल्नुपर्ने बाध्यता छ ।

शे–फोकसुण्डो ताल ३६११.५ मिटर उचाइमा रहेको उपल्लो डोल्पामा पर्दछ । नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल समुद्री सतहभन्दा करीब तीन हजार ९०० मिटर उचाइमा छ । तालको लम्बाइ ४.८ किमी, चौडाइ १.६ किमी छ भने गहिराइ ६५० मिटर छ । काञ्जिरोवा हिमालको काखमा अवस्थित सो ताल ‘वाइ’ आकारमा रहेको छ । फोक्सुण्डो तालबाट सुलिगाड झरना बग्छ । उपल्लो डोल्पामा रहेका विभिन्न गुम्बा पनि पर्यटकको रोजाइमा पर्दै आएका छन् ।

सडक नभए पनि पैदल हिँडेर त्यहाँ पर्यटक जाने गरेका स्थानीय सञ्चारकर्मी विष्णुलाल बुढाले जानकारी दिनुभयो । विश्वको अग्लो मानव बस्ती भो र लोपोन्मुख काइके भाषाले यहाँको शोभा झन् बढाएको छ । राराताल समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा छ भने १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिनुका साथै तालको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ । त्यस्तै गहिराइ १६७ मिटर छ ।

रारा राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिनुका साथै कस्तुरी, रतुवाजस्ता जन्तुका साथै राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुङ्गीले पाइने भएकाले राराको महत्व झन् बढाएको छ । जुम्लाको सिञ्जा उपत्यकामा इसाको १३औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो । सिञ्जा उपत्यका खस मल्लको राजधानी थियो । बाह«ौँ शताब्दीदेखि इसाको १४औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिञ्जामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ । यही बाटो भएर रारा जाने गरिन्छ । कच्ची बाटो रहेका कारण हिउँदयाममा कम सास्ती भए पनि वर्षायाममा भने समस्या रहेको छ ।

त्यस्तै जाजरकोटको २०० वर्ष पुरानो दरबार क्षेत्र पनि पर्यटनका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको छ । विसं १८२५ मा निर्माण गरिएको सो दरबार पर्यटकको रोजाइमा पर्दै आएको छ । त्यस्तै भेरी नगरपालिका–१ मा रहेको शिवालय क्षेत्रमा रहेका २०० वर्षभन्दा पुराना देवल पर्यटकको मुख्य रोजाइ बन्दै गएका छन् । बारेकोट गाउँपालिकाको साइकुवारी, पजारुमा रहेको चैतेलगायतका पौराणिक कला संस्कृति अनि इतिहाससँग जोडिएका महत्वपूर्ण वस्तुले पर्यटकको मन लोभ्याइरहेका छन् ।

सडकको पहुँच नभएका कारण पैदल हिँडेर जानुपर्ने बाध्यताले गर्दा रमाइलोभन्दा पीडा बढी हुने गरेको पर्यटक बताउँछन् । पर्यटक पुग्दा बस्ने बास र खाने कुराको सही व्यवस्थापन नहुँदा अर्को समस्या थपिएको छ । भ्रमण वर्ष २०२० को सचिवालयबाट कर्णालीमा रु २५ लाख मात्र आएको छ ।

उक्त कार्यक्रम उद्घाटनका लागि प्रदेश सरकारले जनवरी १ तारिखमा भ्रमण वर्ष शुभारम्भका लागि रु १० लाख र प्रचार–प्रसारका लागि रु १० लाख छुट्याएको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । बजेटमा कम प्राथमिकता भएकै कारण सबै काम यही बजेटबाट गर्न चुनौती हुने बताइन्छ ।