राष्ट्रिय सभा निर्वाचनको संयोजन गर्ने जिम्मा राजपाका महतोलाई

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय सभा चुनावको संयोजन गर्ने जिम्मेवारी अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलाई दिएको छ ।

महतोको संयोजकत्वमा बनेको संयोजन समितिको सदस्यमा अध्यक्षमण्डदलका सबै सदस्यहरु र राष्ट्रिय सभाका दुईजना उम्मेदार रहने पार्टीले निर्णय गरेको छ ।

त्यसैगरि, प्रदेश २ मा संयोजनको जिम्मेवारी राजपा नेपालका प्रदेश २ का प्रदेश सभा संसदीय दलका नेता जितेन्द्र सोनललाई दिइएको छ ।

त्यसैगरि राजपाले पुस २५ गते महाधिवेशन तयारी समितिको बैठक बोलाएको छ भने २६ गते जिल्लाहरुमा खटाइएका केन्द्रीय पर्यवेक्षकहरुको बैठक जनकपुरमा बोलाउने निर्णय गरेको छ ।

पुस २७ गते राष्ट्रिय सभाका प्रदेश २ मा रहेका मतदाताहरुसँगको छलफल महोत्तरीको बर्दिवासमा राखिएको छ ।

त्यसैगरि पार्टीले राजपा नेपालका मतदाताहरुको लागि माघ ७ र ८ गते बर्दिवासमा मतदाता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।