नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्नः सबैको चित्त बुझाउन अध्यक्षद्वय ओली र प्रचण्ड दुवै सफल

नेकपा । पक्ष–विपक्ष सबैलाई ‘वीनवीन’को अनुभूति गराउँदै सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पाँच दिन लामो बैठकमा राष्ट्रिय अन्तर्राष्ट्रि सबै विषयमा केन्द्रीय सदस्यहरु पक्ष विपक्षमा उभिए, तर निर्णय गर्दा सबैको चित्त बुझाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सफल भए ।

नेकपा बैठकमा सबैभन्दा बहस भएको विषय अमेरिकाको एमसीसी र इण्डो प्यासिफिक रणनीति थिए । एमसीसी जस्ताको तस्तै पारित नगरियोस् भन्ने पक्षलाई सन्तुष्ट बनाउन ३ सदस्यीय सुझाव संकलन कार्यदल गठन गर्ने मध्यमार्गी समाधान अध्यक्षद्वयले निकाले ।

इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले पारेको भन्दै ओली पक्षले आपत्ति जनाएको थियो । उनीहरुलाई पनि सम्बोधन गर्दै प्रचण्डले सो शब्द हटाउने र अबदेखि कूटनीतिक भाषाको प्रयोग गर्ने बताए ।

सरकारविरुद्ध केन्द्रीय कमिटी बैठकमा निकै ठूलो मत प्रकट हुने र प्रधानमन्त्री अप्ठेरोमा पर्ने अनुमान थियो । तर, सरकारका सन्दर्भमा पनि मध्यमार्गी निर्णय आयो ।

तीनै तहका सरकारका कामलाई थप प्रभावकारी बनाउने र सरकार पार्टीको निर्देशनमा चल्नुपर्ने कुरालाई स्वयं प्रधानमन्त्रीले बैठकमा स्वीकारेपछि सो विषय पनि थप विवादमा परेन ।

सरकारका प्रवक्ता समेत रहेका नेकपा नेता गोकुल बास्कोटाले बैठक अपेक्षितरुपमै सम्पन्न भएको र यसले धेरै अन्यौल र भ्रमहरु समाप्त पारेको बताए । उनले सार्वजनिकरुपमा उठेका बहसहरुलाई नेकपा बैठकले निरुपण गरेको बताए ।

बास्कोटाले भने, पार्टी जीवन थप गतिशील र व्यवस्थित गर्ने, एकता प्रक्रिया टुंग्याउयन, सरकारले गरेका कामको अपनत्व लिदै अझै प्रभावकारी बनाउन तीन तहका सरकारलाई सघाउने निर्णय बैठकले गरेको छ ।

देश र जनताको पक्षमा अझ प्रभावकारी काम गर्न तीनै तहका सरकारलाई पार्टीले दिशा निर्देश गरेको छ । पक्ष र विपक्षमा मतदान नभए पनि समूहबन्दी प्रकट भएर संख्याका आधारमा निर्णय प्रभावित हुने अनुमानलाई पनि दुवै अध्यक्षले चलाखीपूर्वक पन्छाएको नेकपाका नेताहरु बताउँछन् ।

समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले जेजे कुरा राखे पनि टोली नेताले सबैका भनाइ समेटेर बैठकमा पेश गरेकाले पक्ष विपक्ष भएन । बैठक समापन गर्दै ओलीले कतिपय मिडियाले नेकपा केन्द्रीय सदस्यहरुलाई समूहबन्दी गरेर विभाजित देखाउन खोजे पनि पार्टीमा त्यस्तो अवस्था नरहेको बताउनुले पनि यसलाई संकेत गर्छ ।

विधानमै नेकपामा यसपटकको महाधिवेशन समेत सहमतिका आधारमा गर्ने भनिएकाले कुनै कमिटीमा मतदान नहुने हुँदा मुद्दाका आधारमा समूहबन्दी जिवित भए पनि मतदानमा पुग्ने अवस्था छैन ।

केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएका लगभग सबै प्रश्न, माग र सुझावहरुलाई दुई अध्यक्ष र सचिवालय बैठकले कुनै न कुनै रुपमा सम्बोधन गरेकाले बैठक सफलतामा टुंगिएको टिप्पणी केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख बिष्णु रिजालको छ ।

पार्टी र सरकारलाई प्रभावकारी बनाउन बैठकले दिशा निर्देशन गरेको उनले बताए । अर्का केन्द्रीय सदस्य युवराज चौलागाईले पनि बैठकले पार्टीको निर्देशनमा सरकारले काम गर्नुपर्छ भन्ने कुरालाई स्थापित गरेको बताए ।

उनले समग्रमा बैठक सफलतापूर्वक सकिएको टिप्पणी गरे । पार्टी एकीकरणको डेढ वर्षसम्म नेकपामा केन्द्रीय कमिटीको बैठक यसरी बसेको थिएन । पहिलो बैठक सपथग्रहण र निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि औपचारिक मात्र थियो ।

यसबीचमा पार्टीमा बैठक नहुँदा धेरै असन्तुष्टिहरु रहेकामा यो बैठकबाट सदस्यहरुका आवाज नेतृत्वले सहजरुपमा स्वीकार गरेको नेताहरु बताउँछन् । नेकपा बैठकमा उठेको अर्को माग पार्टीका नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन हुनुपर्ने थियो ।

केन्द्रीय कमिटी बैठकमा सम्पत्ति छानविन आयोग गठनको माग भए पनि अनुशासन आयोगलेनै सो काम गर्ने जानकारी अध्यक्ष प्रचण्डले दिएका छन् ।केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अध्यक्ष प्रचण्डले अनुशासन आयोगलेनै सम्पत्ति छानविन तथा अनुशासन पालना गराउने बताए ।

सम्पत्ति छानविनको काम अनुशासन आयोगले सबैभन्दा पहिले सचिवालय सदस्यहरुबाटै गर्ने केन्द्रीय सदस्य ठाकुर गैरेले प्रचण्डलाई उधृत गर्दै बताए । केन्द्रीय सचिवालयको संख्या ९ बाट बढाउनुपर्ने प्रस्ताव भने बैठकबाट स्वीकृत भएन । यसबारेमा सचिवालयलेनै निर्णय गर्ने गैरेले बताए ।

नेकपा बैठकमा समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यहरुले उठाएका सम्पत्ति छानबिनको मागदेखि दुई अध्यक्षको फोटो पार्टी कार्यक्रममा नराख्नेसम्मका सुझाव स्वीकृत भएका छन् ।

एक व्यक्ति एक पद लागु गर्नुपर्नेदेखि महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चता गर्नेसम्मका सुझाव अध्यक्ष प्रचण्डले लागु हुने जवाफ दिएका छन् ।

केन्द्रीय कमिटी बैठक हलमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको फोटो टाँगेर माक्र्स लेनिन र मनमोहन अधिकारीकोको फोटो नराखिएको भन्दै केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका थिए ।

समूहगत छलफलमा समेत सो विषय उठेपछि प्रचण्डले जवाफ दिने क्रममा फोटो नराखिने बताए । अब नेकपाका बैठक र कार्यक्रममा पुष्पलाल,मदन भण्डारी र माक्र्स लेनिनको फोटो रहनेछन् ।

त्यस्तै पार्टी एकताका बाँकी सबै काम १५ दिनभित्र टुंगो लगाइसक्ने समेत जवाफका प्रचण्डका प्रचण्डले बताए । अब हुने मनोनयन र कमिटी गठनहरुमा महिलालाई प्राथमिकता दिने र सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराइने समेत उनले बताए ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने र अबदेखि पार्टीका दस्तावेजमा कुटनीतिक मर्यादा अनुकुलका शब्दहरुमात्र राखिने बताएका छन् ।

नयाँ नक्सा सार्वजनिक गर

नेकपा केन्द्रीय कमिटी बैठकले लिम्पियाधुरा सहितको जमिन समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै नेपाल ट्रष्टको जग्गाका बारेमा स्वेतपत्र जारी गर्न समेत सरकारलाई भनेको छ ।

केन्द्रीय कमिटी बैठकमा यी विषयमा प्रश्न उठेपछि पार्टीले सरकारलाई निर्देशन दिएको हो । बैठकमा भूमि व्यवस्था मन्त्री समेत रहेकी नेकपा केन्द्रीय सदस्य पद्मा अर्यालले यसबारेमा काम भइरहेको जानकारी गराएकी छन् ।

भारतले नेपाली भूमि समेत समेटेर बनाएको नक्सा अश्वीकार गर्ने सरकारको निर्णयलाई बैठकले स्वागत गरेको र नेपालको पनि राजनीतिक तथा प्रशासनिक नक्सा बनाएर लिम्पिाधुरा,लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्न नकपाले भनेको छ ।

त्यस्तै नेपाल ट्रष्टको गोकर्ण लगायतका जग्गा यति होल्डिङ्सलाई लिजमा दिएको सन्दर्भमा प्रश्न उठेपछि बैठकले ट्रष्टको देशभरको जग्गाको यथार्थ जानकारी मागिएको हो । यतीलाई दिइएको कुरामात्र बाहिर आएपनि अरुले पनि धेरै सम्पत्ति लिजमा लिएको हुनाले यथार्थ विवरण मागिएको केन्द्रीय सदस्य विशाल भट्टराईले बताए ।

ट्रष्टको सम्पत्ति क–कसलाई कुन सरकारको पालामा कसरी लिजमा दिइएको हो सबै विवरण स्वेतपत्र मार्फत सार्वजनिक गर्न ट्रष्टका अध्यक्षसमेत रहेका नेता ईश्वर पोखरेललाई निर्देशन दिएको जानकारी बैठकमा अध्यक्ष प्रचण्डले गराएका थिए ।