पार्टी भित्र समस्या छ, तर आत्तिनु पर्दैनः वरिष्ठ नेता माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र केही समस्या देखिए पनि आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् ।

बिहीबार वाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी भित्र समस्या भएपनि त्यो समाधान हुने बताए ।

‘तपाईंहरु यहाँ आउँदा मनमा धेरै आशंका लिएर आउनुभएको होला । अखवारहरुमा आएका समाचारले धेरै आशंका उब्जायो होला,’ प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘पार्टी भित्र समस्या छ । तर, समाधान हुन्छ । आत्तिनु पर्ने अवस्था छैन । यहाँबाट जाँदा तपाईंहरु नयाँ जोश लिएर जानुहुने छ ।’

नेता नेपालले पार्टीलाई तथा आन्दोलनलाई विघटनको दिशमा जान दिँदैनौं भनेर सबैले प्रतिज्ञा गर्नुपर्ने पनि बताए ।

नीति र विधानको पालनाबाट मात्रै पार्टी बलियो हुने पनि नेता नेतपाको भनाइ थियो । पार्टी भित्र एकतासँगै संघर्ष र विवाद पनि रहने उल्लेख गर्दै नेता नेपालले विवादलाई पार्टी भित्रै सीमित राख्नुपर्ने पनि बताए ।