युरोपियन युनियनमा आबद्ध देशहरूले ३० दिनसम्म सीमा नाका बन्द गर्ने

काठमाडौं– प्राणघातक कोरोना भाईरसले थप समस्या उत्पन्न बनाउन सक्ने भन्दै युरोपियन युनियन आबद्ध देशहरूले ३० दिन सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । ईयूका मुलुकहरूले थप सतर्कता अपनाउँदै नाका बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रतिबन्धले गैरईयू नागरिकहरूलाई भ्रमण गर्नबाट असर पार्नेछ । लामो अवधिको बासिन्दा, ईयूका परिवारका सदस्य, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र सामान ढुवानी गर्ने मानिसहरूका हकमा भने प्रतिबन्ध लागू नहुने बीबीसी समाचारमा उल्लेख छ ।

हुबेई प्रान्तको उहान उद्गम भएर फैलिएको कोरोना भाइरसको संक्रमणले चीनपछि युरोपेली देशहरूलाई समातेको छ । युरोप क्षेत्रको इटली, स्पेन र फ्रान्समा यसले महामारीको रूप लिइरहेको छ ।

वर्ल्डओमिटर्सका अनुसार, इटलीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२ हजार ५ सय ३ पुगेको छ । मंगलबार मात्रै यहाँ थप ३४५ को ज्यान गएको छ । ३१ हजार ५ सय ६ जना संक्रमित छन् ।

स्पेनमा एकै दिन १९१ मानिसको ज्यान गएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३३ पुगेको छ । फ्रान्समा १ सय ७५ र जर्मनीमा २६ जनाको ज्यान गएको छ ।
सीमा बन्द गर्ने यो निर्णय आइसल्यान्ड, लिकस्टेन, नर्वे र स्विट्जरल्यान्डसहित ईयू आबद्ध २६ देशले अवलम्बन गर्ने अपेक्षा गरिएको छ ।