कवि हुँदै प्रधानमन्त्री बनेका वाजपेयी अब सम्झनामा सीमित

काठमाडौँ– प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल भएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा भए ।

भारतमा सबभन्दा लामो समयसम्म सांसद बनेका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बनेका थिए । गठबन्धन सरकारलाई स्थायित्व र सफलता प्रदान गर्ने प्रधानमन्त्रीको रूपमा पनि उनलाई सम्झने गरिन्छ ।

सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उनको जन्म भएको थियो ।

उनले कानपुरको डी.ए.वी. कलेजबाट राजनीति शास्त्रमा प्रथम श्रेणीमा एम.ए. को परीक्षा उत्तीर्ण गरेका थिए भने एल.एल.बी. को पढाई शुरू गरेपनि छोडेर विद्यार्थीकाल देखि नै राष्ट्रिय स्वयंसेवक सङ्घमा लागेका थिए ।

महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति “विजय पताका” पढेर आफू परिवर्तन भएको बताउने बाजपेयीले डा। श्यामा प्रसाद मुखर्जी र पं। दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढेका थिए ।

राष्ट्रिय स्तरको वादविवाद प्रतियोगिताहरूमा भाग लिन थालेपछि सार्वजनिक छवि बनाउदै गएका वाजपेयीले पाञ्चजन्य, राष्ट्रधर्म, दैनिक स्वदेश र वीर अर्जुनको सम्पादक समेत बने । उनी प्रखर वक्ता पनि थिए ।

प्राध्यापन पेशामा रहेका र राम्रा कवि मानिएका आफ्ना पिता कृष्ण बिहारी वाजपेयीको प्रेरणाबाट उनी साहित्यिक क्षेत्रमा लागेका थिए । उनको पहिलो कविता ‘ताजमहल’ मानिन्छ । राष्ट्रप्रतिको वैयक्तिक संवेदनशीलता, संघर्षमय जीवन, परिवर्तनशीलता, जेलवास सबै परिस्थितिको प्रभाव एवं अनुभूति उनका कवितामा पाईन्छ ।

भारतीय जन सङ्घको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रुपमा राजनीतिक नेतृत्व गरे । सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उनी पराजित भए । सन् १९५७ मा बलरामपुरबाट भने जनसङ्घको तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल थिए । सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बने भने १९६८ देखि १९७३ सम्म भारतीय जनसङ्घको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाले ।

सन् १९७७ देखि १९७९ सम्म भारतको विदेश मन्त्री बनेर उनले विदेशमा भारतको छवि राम्रो बनाउन सफल भए । उनले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराएका थिए ।

सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाए । त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भए र १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाए ।

उनले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थपे ।

आफ्नो कार्यकालमा उनले परमाणु शक्ति सम्पन्न देशहरूको सम्भावित क्रोधबाट विचलित नभई अग्नि दुई नामक परमाणु परीक्षण गरेर देशको सुरक्षाका लागि दृढ कदम उठाए। उनले सय बर्षभन्दा लामो कावेरी जल विवाद समाधान गर्नुभयो भने ग्रामीण रोजगार सृजना एवम् विदेशमा बसेका भारतीय मूलका मानिसहरूका लागि वीमा योजना पनि शुरू गराए ।

वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो । त्यसपछि उनले राजनीतिबाट सन्यास घोषणा गरे ।