लकडाउनले गरिबलाई ‘पतिङ्गर’को चिन्ता

महोत्तरी– घरमा भएको अन्नपात सकिँदै गयो, काममा जान ‘लकडाउन’ ले दिएको छैन । कोभिड–१९ को सन्त्रास छल्न ‘लकडाउन’ थपिँदै जाँदा महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरीटोलकी भुठ्ठी सादालाई यसपाली वर्षभरिको इन्धन (खाना पकाउने दाउरा) सङ्ग्रह गर्न नपाएको चिन्ता छ ।

वसन्त ऋतुमा वनका रुखले नयाँ पालुवा फेर्न पहिलेका पात झार्छन् । वनमा रुखले झारेका यिनै पतिङ्गर बटुलेर वर्षभरिको खाना पकाउने इन्धनको जोहो गर्ने भुठ्ठीसहित मुसहर बस्तीका महिलालाई यसपाली वन जान नपाएको कुराले औडाहा चलेको छ ।

“चैत, वैशाख हाम्रो वर्षभरि खाना पकाउन पतिङ्गर (दाउरा) समेट्ने बेला हो” भुठ्ठीले भनिन्, “यसपाली ठूलो महामारी छ, बाहिर निस्कनु हुँँदैन भन्छन्, खै जाउली केले पकाउने हो ?” वर्षभरिको इन्धनको जोहो र सङ्ग्रहित पतिङ्गर किसानलाई बेचेर पाइने अतिरिक्त आम्दानी यसपाली सुकेको आम मुसहर महिलाको भनाइ छ ।

“खै यो बन्दाबन्दी (लकडाउन) त केही दिनपछि खुल्ला, काम गर्न जान पनि पाइएला”, गौशाला नगरपालिकाको बेलगाछी मुसहर बस्तीकी सुकनी सादाले भनिन्, “यसपाली अब पतिङ्गर भने ल्याउन पाइएन, खै वर्ष केले गुजार्ने हो ?”

मुसहर महिलाले चैत र वैशाखमा सङ्ग्रह गरेका पतिङ्गर आपूmलाई वर्षभरि चाहिने राखेर अरू किसानलाई बेचेर अतिरिक्त आम्दानी गर्ने गर्थे । बारीमा रोपिएको परवल, ओल, पिँडालु, अदुवा र बेसारसहितका बालीलाई माटोको चिस्यान राखी राख्न किसानले पतिङ्गरले छोप्ने गरेका छन् । सङ्ग्रह गरिएको पतिङ्गरबाट हुने यो अतिरिक्त कमाइ पनि यसपाली जिल्लिएको मुसहर महिलाको दुखेसो छ ।

“पतिङ्गर खोज्न धनी (मुसहरले अन्य समुदायका आपूm मजदुरी गर्न जाने घरका किसानलाई धनी वा धनिक भन्छन्) घरघरै आइपुग्थे, राम्रै रकम पाइन्थ्यो”, औरही नगरपालिकाको टिम्किया दलित बस्तीकी जुलमी सादाले भनिन्, “यसपाली यो आम्दानीबाट पनि हात धुन प¥यो, आपूmलाई पनि वर्षभरि केले खाना पकाउने भन्ने चिन्ता रहने भयो ।”

चैत÷वैशाख कृषि मजदुरी त्यति नचल्ने हुँदा मुसहर महिलाका लागि इन्धनको जोहो र अतिरिक्त आम्दानीका लागि पतिङ्गर राम्रो स्रोत रहँदै आएको थियो । चैतदेखि वैशाख पहिलो सातासम्म वनक्षेत्रका जता पनि पतिङ्गर सोहोरी रहेका देखिने मुसहर महिला यसपाली भने ‘लकडाउन’ ले घरमै थुनिएपछि उनीहरूको यो तालिका गडबडिएको हो । वैशाख पहिलो सातापछि वनमा डढेलो बढ्दै जाने हुनाले अब यसपाली पतिङ्गर सोहोर्ने काम थन्किएको मुसहर महिलाको भनाइ छ ।

कृषि मजदुरी नै घरगुजाराको पेशा भएका मुसहर महिलाले अब केही दिनपछि ‘लकडाउन’ खुले काममा जान सकिने भए पनि पतिङ्गर यसपाली सङ्ग्रह अब हुन नसक्ने भन्दै राहतमा खाद्यान्नसँगै दाउराको प्रबन्धसमेत जोडिदिन आग्रह गरेका छन् ।