पहिरोले बस पुर्दा दाउन्नेमा एकको मृत्यु, सात जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

उक्त पहिरोमा परी अन्य ७ जना घाइते भएका छन् । बिहीबार साँझ विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले ना ५ ख ७९४० नम्बरको बस पुरेको थियो ।

लेदोसहित खसेको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षीय हरिषचन्द केसीको मृत्यु भएको हो । उनको बिहीबार राति उपचारका क्रममा चितवनमा रहेको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ । पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि शुक्रबार बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।