प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न उजुरी

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत् नागरिक आन्दोलनका अगुवाहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी गरेका छन् । आइतबार ललितपुरको पुलचोकस्थित विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत् नागरिक आन्दोलनका अगुवा प्रा.डा. गोविन्द केसीसहितको टिमले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले विशेष अदालतको न्यायाधीश हुँदा अवैधरुपमा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र सो रकम पत्नी रेजी राणाको नाममा २०६५ सालमा ठमेलस्थित कि।नं १०९ र ११० को जग्गा किनेको आरोपसमेत लगाइएको छ । ज्ञापनपत्र बुझाउँदै नागरिक आन्दोलनका अगुवासमेत रहेका डा. केसीले शक्तिको आडमा जिम्मेवार पदाधिकारीको संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गरी अस्वाभाविक जीवनशैली देखाएका प्रधानन्यायाधीशको सम्पत्ति अपारदर्शी देखिएकोले छानबिनको माग गरेको बताए । उनले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेको कुरा आम सञ्चारमाध्यमहरूमा आइरहेकोले नागरिक समाज चुप लागेर बस्न नसक्ने बताए ।

प्रधानन्यायाधीश जबराको सम्पत्ति शुद्धीकरणको माग गर्दै कानुन व्यवसायी तथा नागरिक आन्दोलनका अगुवाहरूले विभागलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र लिँदै विभागका महानिर्देशक भट्टराईले प्रधानन्यायाधीशबिरुद्धको सम्पत्ति शुद्धीकरणको प्रक्रिया अघि बढ्ने बताए ।