प्रदेश २ सरकारले समस्यामा परे घरमै राहत पुर्‍याउने

काठमाडौं । कोराना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण समस्यामा परेमा प्रदेश २ सरकारले घरमै राहत पुर्‍याइदिने भएको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।

पहिलो चरणमा स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याइएको थियो । तर कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासो आएपछि प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्‍याउने बनाएको हो ।

स्थानीय तहले बुझाएका सूचीमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानविन गरी वास्तविक पीडितको पहिचान गरिने प्रदेश सरकारले बताएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ । यो रकमले कोरोना परीक्षण गर्न पीसीआरसहितका उपकरणहरु खरिद गरिने बताइएको छ ।