‘बिक्दैन अण्डा, पाइँदैन दाना’

कोभिड १९ प्रभाव

प्यूठान– प्यूठानको सरुमारानी गाउँपालिका– १ बाङ्गेशालको एकता पोल्ट्री फार्ममा चार हजार ५०० कुखुरा छन् ।

८५ लाखको लगानीमा यहाँका युवा प्रकाश आचार्यले सञ्चालन गरेको फार्ममा दैनिक चार क्विन्टल दाना खपत हुन्छ । दैनिक २१० वटा अण्डा प्रतिपेटी हुनेगरी २० पेटी अण्डा उत्पादन हुँदै आएको छ । सो फार्ममा अहिले अण्डा ६५ पेटी छ तर दाना छैन । दैनिकरूपमा खुवाउने दाना नभएपछि फार्मले खुला चउरमा कुखुरा चराउन थालेको छ । दाना किन्नका लागि चाहिने नगद नभएपछि भारतीयले दाना आपूर्ति नगर्दा माउन्टेन विधिबाट कुखुरा पाल्ने उपाय खोजिएको छ ।

करिब १५ दिनमा दानामा पाइने तत्वको प्रतिशत घटाउँदै खुला चरनबाट कुखुरालाई बचाउने विधि माउन्टेन विधि हो । केही महिनाअघि सरकारले दानाको मूल्य बढाएको थियो । दानाको मूल्य बढे पनि अण्डाको मूल्य नबढ्दा निरास देखिएका व्यवसायीले लागत घटाउन खोरको क्षमताअनुसार कुखुराको सङ्ख्या बढाएको फार्मका सञ्चालक आचार्यले बताए ।

प्यूठान– १ दाखाक्वाडीको प्रगतिशील पोल्ट्री तथा कृषि फार्ममा अण्डा दिने १० हजार हाइलाइन र लोम्यान जात लेयर्सलाई पनि दाना सङ्कट परेको छ । बन्दाबन्दीको समयमा अण्डा फार्ममै थन्किएपछि नगद कारोवार गर्न नसक्दा दानालाई चाहिने तत्व खरिद गर्न सकिएको छैन । कोल्चेन अर्थात् चिस्यान घरको व्यवस्थापन नभए १५ देखि ३० दिनमा अण्डा बिग्रिन थाल्दछ । यही समस्या फार्ममा देखिन थालेको छ ।

हाल खोरमा रहेको कुखुरामा रु एक करोड ११ लाख जति खर्च भइसकेको छ । अण्डा उत्पादनको पहिलो चरणमा नै अण्डा बिक्री गर्न नपाएपछि व्यवसाय नै धरापमा परेको व्यवसायी मुक्ति पोखरेलको दुखेसो छ । रु ६० लाख ऋण लिएर व्यवसाय सञ्चालन गरेका पोखरेललाई झण्डै रु १३ लाखको अण्डा बिग्रिन थालेपछि ऋण र कुखुरा कसरी बचाउने चिन्ता छ । “सरकारले नहेर्ने हो भने हामी डुब्छौँ”, उनले भने ।

जिल्लाका लेयर्स फार्ममा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना तथा विश्व बैंकको लाखौँ अनुदान सहयोग छ । जिल्लामा व्यावसायिकरूपमा १८ वटा लियर्स कुखुरापालन फार्म छन् । दैनिक करिब ४२ क्विन्टल दाना लेयर्सका लागि मात्र खपत हुन्छ । अठार फार्ममा रहेका करिब ५५ हजार कुखुराबाट दैनिक २०५ पेटी अण्डा उत्पादन भइरहेको छ ।

फार्ममै दाना बनाउन चीन र भारतबाट आउने दानाका तत्व उधारोमा नपाउने र अण्डाले बजार नपाएपछि व्यवसायी समस्यामा परेको जिल्ला पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष झगबहादुर जिसीले बताए । “जिल्ला अण्डामा आत्मनिर्भर बनेको थियो”, उनले भने, “बजार व्यवस्थापनमा सरकारले समयमै कृषकलाई सहयोग नगरे राज्यको लाखौँको अनुदान पनि खेर जाने र कृषकको व्यवसाय धरापमा पर्ने निश्चित छ ।” सरकारले पशु र पक्षीजन्य वस्तु राम्रोसँग पकाएर मात्रै खाने भने पनि स्थानीयवासीले अण्डा तथा मासु कम खरिद गरेकोे कृषकको भनाइ छ ।

मल्लरानी गाउँपालिकाका पशु शाखा संयोजक बाबुराम न्यौपानेका अनुसार १६ वटा तत्व लेयर्सलाई चाहिन्छ । लाइसिन, मिथाइन, क्याल्सियम, इन्जाइम, मिनेरल, एसिडिन फाइभ, भिटामिन एविलगायतका भिटामिन अभाव हुँदा अण्डा फुट्ने र कुखुराको उत्पादन शक्ति घट्न थालेको न्यौपानेको भनाइ छ । यति मात्रै होइन जिल्लामा ब्रोइलर पालन गरेका कृषक पनि मारमा छन् । कडा परिश्रमका साथ हुर्काएका कुखुरा छिप्पिन थालेपछि कृषक चिन्तित छन् ।