आज २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं– सरकारले आगामी वर्षको बजेटसम्बन्धी नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कोरोना संक्रमणको महामारीबीच आउन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखिएको छ । यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा जोड दिइएको अर्थमन्त्रालय स्रोतले बतायो । नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाका उपकरण र पूर्वाधार विस्तारमा जोड दिइएको छ ।

नीति तथा कार्यक्रम मानवीय स्वास्थ्य, कृषि उत्पादन वृद्धि, साना तथा मझौला उद्योग, पर्यटन, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, विपन्न समुदाय, निजी क्षेत्रलाई प्रोत्साहन दिने किसिमको हुने बताइएको छ ।