साताको अन्तिम दिन बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से बढेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से ५.७४ अंकले बढेर १५६१.२७ अंकमा बन्द भएको छ ।

प्रि-ओपनिङ सेसनमै १० अंकले बढेर खुलेको नेप्से त्यसपछि केही समयमै ओरालो लागेर बुधबार बजार बन्द भएको विन्दुनजिक पुगेको थियो । दिनभर जस्तो सोही आसपासमा घुमेको नेप्से १ बजेर १५ मिनेट जाँदा भने हिजोको विन्दुभन्दा सामान्य तल पुगे पनि करिब १ बजेर ४५ मिनेपछि भने उकालो लाग्‍न सुरु भएको थियो । त्यसपछि भने बजार उकालो लागेर नेप्सेमा सामान्य वृद्धिसहित बन्द भएको हो ।

हाइड्रोपावर र व्यापार समूहका कम्पनीको सेयर मूल्यमा उछाल देखिँदा जीवन र निर्जीवन बिमा समूहको सूचक भने सर्वाधिक घटेको छ । बैंकिङ समूहको सूचक स्थिरजस्तै देखिँदा पनि हाइड्रोपावर र व्यापार कम्पनीको सेयर मूल्यमा उछाल आउँदा बिहीबार नेप्सेमा वृद्धि भएको हो । बिहीबार व्यापार समूहको सूचक सर्वाधिक ६.९५ प्रतिशत र हाइड्रोपावर समूहको सूचक ४.४९ प्रतिशतले बढेको छ । यस्तै वित्त कम्पनी समूहको सूचक १.२९ प्रतिशत र होटेल समूहको सूचक १.०१ प्रतिशतले उकालो लागेको छ । बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक भने ०.०७ प्रतिशतले बढेको छ ।

यता विकास बैंक, जीवन बिमा निर्जीवन बिमा, उत्पादन, लघुवित्त र म्युचुअल फन्ड समूहको सूचक भने नकारात्मक देखिएको छ । निर्जीवन बिमाको सूचक ०.६८ प्रतिशत र जीवन बिमा समूहको सूचक ०.४५ प्रतिशतले घटेको छ ।

नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । बुधबार करिब पौने दुई अर्बको कारोबार भएको बजारमा बिहीबार कारोबार रकम करिब सवा दुई अर्ब पुगेको छ । आज नेप्सेमा १९३ कम्पनी सेयर ४५ हजार ८३४ पटक कारोबार हुँदा २ अर्ब २३ करोड ४५ लाख ८९ हजारको कारोबार भएको छ । यस क्रममा ८९ लाख ७१ हजार ३०३ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा आज कारोबार रकमममा अग्र स्थानमा अरुण काबेली पावर रहेको छ । कम्पनीका ६ लाख ९१ हजार ९६१ कित्ता सेयर किनबेच हुँदा १४ करोड ७८ लाख ६४ हजारको कारोबार भएको छ । यता कारोबार संख्यामा रिलायन्स लाइफ अगाडि रहेको छ । कम्पनीको सेयर ५ हजार १९८ वटा कारोबार भएको छ ।  कारोबार रकममा अरुण काबेलीलाई अपर तामाकोसी, नेपाल पुनर्बिमा कम्पनी, अरुण भ्याली हाइड्रोपावर र नेपाल बैंकले पछ्याएका छन् ।

बिहीबार कारोबारमा आएकामध्ये १२ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक (पोजेटिभ) सर्किट लागेको छ । जसमध्ये १२ वटै हाइड्रोपावर छन् । यता गुमाउनेमा भने दुई म्युचुअल फन्डसँगै युनिलिभर, कालिका लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ता अगाडि छन् ।