नेपालका चार जिल्ला कोरोना ‘फ्री’

काठमाडौ– नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै जाँदा ७७ जिल्लाहरुमध्ये चारवटा जिल्लाहरु कोरोनाको भाइरसबाट मुक्त भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा कोरोनाको ‘एक्टिभ केस’ छैन । “चारवटा जिल्लामा अहिले कुनै पनि कोरोना सङ्क्रमित बिरामीहरू हुनुहुन्न,” उनले भने ।

हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ को आधारमा निको हुनेको दर ४६.३८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएको उनले बताए । आइसोलेशनमा रहनेको सङ्ख्या आठ हजार ६३४ रहेको छ । २५ हजार ७२७ जना मुलुकभरका क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।

सङ्क्रमण दर ओरालो

पछिल्ला पाँच दिनमा कूल परीक्षणको तुलनामा सङ्क्रमित हुनेको प्रतिशत निरन्तर घटिरहेको उनले बताए । कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसिरहेकाको सङ्ख्या पनि घट्दो रहेको उनको भनाइ छ । यही असार १९ गते नयाँ पोजेटिभको सङ्ख्या ७४० (१६.५ प्रतिशत), २० गते २३२ (५.७ प्रतिशत), २१ गते २९३ (६.२ प्रतिशत), २२ गते १८० (३.८२ प्रतिशत) र आज २०४ अर्थात् ३.३ प्रतिशत नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।