पोखरा (रासस)– भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा यहाँ आयोजित १२औँ सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व रहेको छ ।
प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले ४२.१९५ किमीको दूरी दुई घण्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पूरा गरेर प्रथम भई ७० हजार प्राप्त गरे । यसैगरी नेपाली सेनाका हरिकुमार रिमालले दुई घण्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरी ४५ हजार प्राप्त गरे । दुई घण्टा ३९ मिनेट ३२.४ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भएका नेपाली सेनाकै लालबहादुर थापाले ३५ हजार हात पारे ।
उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बलका गणेश ठकुरीले दुई घण्टा ४५ मिनेट ४५.२ सेकेण्डमा निर्धारित दूरी पार गरी चौथो हुँदै सान्त्वनास्वरुप पाँच हजार प्राप्त गरेका थिए । पोखरा म्याराथनमा ११३ धावकको सहभागिता थियो । दश किमी पुरुषतर्फको वर्गीकरणमा नेपाली सेनाका रामजी बस्नेत प्रथम, कल्याण बानियाँ द्वितीय र मिलन कार्की तृतीय भए । उनीहरुले क्रमशः १५ हजार १० हजार र पाँच हजार प्राप्त गरेका थिए ।
यसैगरी १० किमी महिला दौडमा सहभागी ६३ जनालाई उछिन्दै सशस्त्र प्रहरी बलकी बिन्द्रा धन्के श्रेष्ठ प्रथम, नेपाली सेनाकी सरिता बासी द्वितीय र सशस्त्र प्रहरी बलकी स्वास्तिका श्रेष्ठ तृतीय भई क्रमशः १५ हजार, १० हजार र पाँच हजार प्राप्त गरेका थिए । पाँच किमी छात्रतर्फ जेशिज मावि भक्तपुरका सागर श्रेष्ठ प्रथम, ड्याफोडिल मावि पोखराका मनिष कार्की द्वितीय तथा जनसेवा माविका मदन ओलीले तृतीय स्थान प्राप्त गरी क्रमशः १० हजार, सात हजार र रु चार हजार प्राप्त गरेका थिए । छात्रातर्फ लक्ष्मी सेकेण्डरी माविकी ललिता लामिछाने प्रथम, शहीद स्मृति माविकी माधुरीदेवी नकर्मी द्वितीय र शिशुकल्याण माविकी कृति थापा तृतीय भए । उनीहरुले क्रमशः १० दश हजार, सात हजार र चार हजार प्राप्त गरे ।
प्रतियोगिताको ४०० मिटर पुरुष ह्विल चियर दौडमा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय र बलबहादुर रोक्का तृतीय भए । यसैगरी सोही वर्गमा महिलातर्फ लक्ष्मी सुनार, अञ्जु बराल र पुनम विके क्रमशः प्रथम, द्वितीय र तृतीय भई क्रमशः पाँच हजार तीन हजार र दुई हजार जितेका थिए । पहिलो पटक आयोजित १०० मिटर दृष्टिविहीन पुरुषतर्फको दौडमा आशिष खड्गी, दुर्गादत्त पौडेल र राजन चन्द क्रमशः प्रथम, द्वितीय र तृतीय तथा महिलातर्फ माया गौतम, विपना खनाल र मुना अर्याल क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै क्रमशः पाँच हजार, तीन हजार र रु दुई हजार प्राप्त गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै ‘रन फर फन’ इभेन्टमा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलगायत करिब तीन हजार पोखरेली रंगशालामा सँगै दौडिएका थिए ।
खेलकुदका क्षेत्रमा विशेष योगदान गरेवापत राष्ट्रिय खेलकुद परिषद्, प्रशिक्षण विभागका निर्देशक रिमबहादुर राना भाट र कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख अशोक सिंहलाई सम्मान गरिएको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई प्रदेश नं ४ का संघीय मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पुरस्कार वितरण गर्दै खेलकुद विकासका लागि योजना अगाडि बढाइने जानकारी दिए ।