छोरी जन्माउने आमालाई भत्ता

दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ । स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले रु एक हजारका दरले प्रोत्साहन भत्ता पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।

उनले भने, “स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेका हौँ ।” छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोराछोरी बीचको समानता कायम गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए ।

“छोरीले पनि छोरा सरह नै काम गर्न सक्छन् भन्ने बुझाउन र समाजले उनीहरुलाई समान दृष्टिकोणले हेर्ने चेतनाको विकासका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो ।” कार्कीले बताए । नेपाल सरकारले संस्थागत सुत्केरी भए यातायताबापत दिने रु दुई हजार र चार पटक गर्भ जाँच गराएबापत पाउने रु ८०० दिँदै आएकामा गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई थप रु एक हजार प्रोत्साहन भत्ता दिएको हो ।