कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । चितवनमा कोरोना भाइरसको संक्रमणले थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

शनिबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आउँदा ती महिलाको मृत्यु भइसकेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।  महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर, रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।

कलेजोमा समस्या देखिएपछि उनलाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो ।उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।  सोही अस्पतालमा बिहीबार राति मृत्यु भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।