उपत्यकामा निषेधाज्ञाबारे छलफल गर्न बैठक बस्दै

काठमाडौं – उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको बैठक बस्दै छ ।

बैठकले जिल्लामा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी उपत्यकाको अवस्थालाई व्यवस्थित गर्ने भन्ने विषयमा निर्णय लिने छ । समीक्षाको आधारमा निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

प्राप्त सूचनाअनुसार आगामी एक साता निषेधाज्ञ थपिने सम्भावना अधिक छ । विभिन्न क्षेत्रबाट अझै एक हप्ता थप्नुपर्ने सुझाव समेत आएको छ । यसअघि साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदै छ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

आज सोही विषयमा छलफल गर्न अपराह्न बैठक बोलाइएको र बैठकमा अहिलेसम्मको गतिविधिबारे समीक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार सोही बैठकले निषेधाज्ञबारे उपयुक्त निर्णय लिनेछ । त्यसअघि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यबस्थापन केन्द्रमा आवश्यक छलफल गरी निर्णय लिइने छ ।

उक्त बैठक अहिले काठमाडौँमा जारी छ । त्यसपछि तीनै जिल्लाको संयुक्त बैठक बस्ने जनाइएको छ ।  कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम आदेश जारी गरिएको हो ।

यस अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ ।  अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यका भित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ ।

निषेधाज्ञाको समयमा पानी र औषधीजन्य सामग्रीका व्यवसाय चौविसै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य खाद्य पदार्थका व्यवसाय भने विहान ९ स् १५ सम्म मात्रै सञ्चालन गर्न पाइने काठमाडौँ प्रशासनले जनाएको छ ।