मौसम अपडेट : कम्तिमा तीन साता मनसुन सक्रिय रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) प्रदेश न.१ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको भइरहेको छ ।

देशका केही भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । विभागले आज दिउँसो देशभर सामान्यत बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्यत बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन सचेत गराएको छ ।

यसैबीच विभागले अझै तीन सातासम्म मनसुन जारी रहने जनाएको छ । “सामान्यत सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भनिन्छ । तर पछिल्लो चारपाँच वर्षको इतिहास हेर्ने हो भने अक्टोबरसम्म पनि मनसुन सक्रिय रहेको देखिएको छ,” विभागकी मौसमविद् विभूती पोखरेल भन्छिन्, “सेप्टेम्बरको तेस्रो सातामै सकिन पनि सक्छ र अक्टोबरसम्म पनि जानसक्छ ।”

यद्यपि अब देशैभर एकैपटक वर्षा नहुने उनी बताउँछिन् । मनसुनी न्यून चापीय रेखा जता सर्यो ती स्थानमा वर्षा हुने उनको भनाइ छ । अहिले न्यून चापीय रेखा पूर्वी र मध्य भूभागमा नेपाल नजिक रहेको र साँझसम्म सर्दै पश्चिम पुग्ने पोखरेल बताउँछिन् ।