सुरक्षाकर्मी र बैंकका कर्मचारी सहित ४५ जनामा कोरोना संक्रमण

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २६ जना र बाराका १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् । बिहीबार प्रयोगशालामा ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये १० जना महिला छन् ।

संक्रमितमध्ये २९ जनाको सिटि भ्यालु २४ र २४ भन्दा कम छ । भने १६ जनाको सिटि भ्यालु २५ भन्दा बढी छ । चौरसियाका अनुसार सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण हुन्छ । वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ ।

 

नबिल बैंकमा कार्यरत ५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनीहरु ३७, ३२, २६, २७ र २१ वर्षीय पुरुष हुन् । वीरगञ्जको वडा नं। ९, १०, ११, १४ र २२ मा २-२ जना र वडा नं.८, १५ र २१ मा १-१ जनामा कोरोना देखिएको छ । संक्रमित मध्ये १ जनाको ठेगाना खुलेको छैन । पर्साको कालिकामाई गाउँपालिका वडा नं.१ मा २ जना, वडा नं. ३ मा १ जना, सखुवा प्रसौनी गाउँपालिका वडा नं.४ मा २ जना, वडा नं. ५ मा १ जना र पटेर्वासुगौलीमा १ जनाको पीसीआर पोजेटिभ देखिएको छ ।

बाराको निजगढ नगरपालिकाबाट पठाइएको स्वाबका नमुना परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको छ । निजगढ नगरपालिकाको वडा नं.८ मा २ जना, वडा नं. ३, ७ र ९ मा १-१ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय निजगढका ३३, ३९, ३३, ४३, ५७ र २८ वर्षका ६ जना र सशस्त्र प्रहरी बल पिलुवाका २६ र ३७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।