मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ बेसीशहर नगरपालिका–३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका– ५ बस्ने ६३ वर्षीय चन्द्र बहादुर अधिकारी रहेका छन् ।

घर सहयोगीको रुपमा राखेकी ६६ वर्षीया महिलालाई चन्द्र बहादुरले बिरामी श्रीमतीलाई भारतमा उपचार गर्न लैजान लागेको र उनको स्याहार सुसारको लागि भारत जाउँ भन्दै आर्थिक प्रलोभनमा पारी २०७६ पुस २ गते वीरगंजको रक्सौल हुँदै कलकत्तास्थित मुकुन्दपुर पुर्‍याई यौन शोषण तथा जबरजस्ती करणी गरेको भन्ने मानब बेचबिखन तथा ओसारपसार मुद्दामा घटना पश्‍चात चन्द्र बहादुर फरार रहेका थिए ।

फरार चन्द्र बहादुरलाई चितवन भरतपुर महानगरपालिका–५ तोरीखेत भन्ने ठाउँमा लुकिछिपी रहेको भन्ने विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको उक्त ब्यूरोले जनाएको छ ।