३०१ नेपाली कतारबाट स्वदेश फिर्ता

दोहा । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारो परेका नेपालीहरू धमाधम स्वदेश फर्कने क्रम जारी छ ।

कतारस्थित नेपाली दूतावासको आइतबार र सोमबारको विवरण अनुसार ३०१ जना नेपाली स्वदेश फर्किएका छन् । आइतबार हिमालय एयरलाइन्सको उडानबाट १५६ जना तथा सोमबार हिमालय एयरलाइन्सबाटै १४५ नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

दुइ वटा उडानमा समावेश भएका सबै नेपालीहरूले कोभिड –१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचिव भट्टराईले बताए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि सचिव भट्टराई, नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अब हिमालय एयरलाइन्सको दोहा–काठमाण्डौ लागि सेप्टेम्बर ८ र २३ मा उडान गर्ने तय भएको छ ।