मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने ।’

यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएका थुप्रै केस छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो । तर अब सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।