बढी मूल्यमा प्याज बिक्री गर्ने ४ जना पक्राउ

 

काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको मूल्य बढाएर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, काठमाडौं महानगरपालिका र वाणिज्य विभागका अधिकारीहरुले गरेको अुनगमनका क्रममा अस्वभाविक मूल्य लिएर प्याज बेचेको पाइएपछि उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं–१४ बस्ने ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, काठमाडौं–२० का ४६ वर्षीय सर्दिप तण्डुकार र बारा घर भई काठमाडौ–१३ बस्ने ५० वर्षीय हरिनारायण शाह कलवार छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । पक्राउ परेका सबै जनालाई कालोबजारी ऐन अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने वृत्तका डीएसपी अपिलराज बोहोराले बताए ।  उनीहरुले प्रतिकिलो एक सय ३० रुपैयाँसम्ममा प्याज बेच्ने गरेको पाइएको थियो । सोमबारसम्म प्याजको मूल्य प्रतिकिलो ७६ रुपैयाँ थियो ।