शुक्रबार आएको रेल एकरात जनकपुरमै रहने

जनकपुर । न्यारोगेज बन्द भएको छ वर्षपछि ब्रोडगेजमा शुक्रबार जनकपुर आएको रेल मंसिर महिनादेखि औपचारिक सञ्चालनमा आउने भएको छ ।

रामजानकी विवाह (पञ्चमी) महोत्सवको अवसर पारी मंसिर महिनाबाट रेलसेवा औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।  नेपाल सरकारको आर्थिक लगानीमा भारतमा निर्माण गरिएको पाँच बोगीसहितको दुई रेल सेट शुक्रबार जनकपुर आइपुगेको हो । शुक्रबार राति जनकपुरमै राखिने रेल शनिबार बिहान पुनः जयनगर फर्किनेछ । औपचारिक रुपमा सञ्चालनको तयारी नभएसम्म जयनगरमै पार्किङग गरी राख्ने व्यवस्था गरिएको प्रजिअ भट्टराईले जनाए ।

शुक्रबार रेलवे निर्माण कम्पनी कंकन इण्डियाका चिफ मेकानिकल इन्जिनियर दिपक त्रिपाठीको नेतृत्वमा तीन सदस्यीय टोलीले दुवै रेलसेट लिएर जनकपुर आइपुगेको हो । रेलको स्वामित्व ग्रहण गर्न धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराई नेतृत्वको टोली जनकपुरको रेलवे स्टेशनमा पुगेको थियो । नेपाली टोलीमा नेपाल रेलवे कम्पनी लिमिटडेका महाप्रबन्ध गुरु भट्टराई, रेल विभागका महाप्रबन्धक बलराम मिश्रा र विभागका सिडिइ देवेन्द्र प्रसाद साह सहित सहभागी थिए ।

निर्माण कार्य सम्पन्न भएपछि निर्माण कम्पनीले नेपाल सरकारलाई रेल हस्तान्तरण गरिदिएपनि औपचारिक रुपमा रेल गुडाउन केही प्राविधिक तयारी बाँकी रहेको भट्टराईले बताए ।  आवश्यक जनशक्ति व्यवस्थापन, स्टेशन र हल्ट, पार्किङ लगायत व्यवस्थापन कार्य दु्रत गतिमा अघि बढाइएको बताउँदै उनले मंसिरको दोस्रो सातादेखि रेल औपचारिक रुपमा सञ्चालनमा आइसक्ने विश्वास व्यक्त गरे ।