नेप्से घट्दा लगानीकर्ताले गुमाए १० अर्ब

काठमाडौं । यो साता सेयर बजार घटेको छ । सातामा कारोबार दिनमा पाँच दिन नै कारोबर भएको बजारमा नेप्से परिसूचक ०.६९ प्रतिशतले घटेको छ । नेप्से घटेसँगै यो साता सेयर बजारको कुल बजार पुँजीकरण पनि ०.४८ प्रतिशतले घटेको छ ।

गत साता नेप्से ३.३९ प्रतिशतले वृद्धि हुँदा सेयर बजार पुँजीकरण हालसम्मकै ऐतिहासिक बनेको थियो । तर यो साता बजार परिसूचक घटेसँगै बजार पुँजीकरण पनि घटेको छ । नेप्सेको तथ्याङ्‍कअनुसार यो साता नेप्से १०.९२ अंकले घट्दा बजार पुँजीकरण १० अर्ब ७ करोड ८४ लाख रुपैयाँले घटेर २० खर्ब ८० अर्ब १२ करोड ८२ लाखमा झरेको छ ।

यो साता नेप्सेका अधिकांश समूहको सूचक घटे पनि व्यापार, वित्त कम्पनी र हाइड्रोपावर समूहको सूचक भने बढेको छ । व्यापार समूहको सूचक ७.१५ प्रतिशत, वित्त कम्पनी समूहको सूचक ३.९ प्रतिशत र हाइड्रोपावर समूहको सूचक ०.४९ प्रतिशतले बढेको छ । होटेल समूहको सूचक भने सर्वाधिक ८ प्रतिशतले ओरालो लागेको छ । सरकारले निषेधाज्ञा अन्त्य गरेसँगै व्यापार व्यवसाय सूचारु हुँदा व्यापार समूहका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

साताभर बजारमा २०६ कम्पनीको सेयर २ लाख ६१ हजार ८४९ पटक कारोबार हुँदा १२ अर्ब १५ करोड ४३ लाखको कारोबार भएको छ । साताभर नेप्सेका ४ करोड ७९ हजार ५०० कित्ता सेयर कारोबार भएको छ । सातामा ५ कारोबार दिनमा पाँच दिन नै कारोबार भएको बजारमा औसतमा प्रतिदिन २ अर्ब ४३ करोडको कारोबार भएको छ ।

यो साता पनि बजारमा नेपाल बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । लगातार उच्च कारोबार हुँदै आएको नेपाल पुनर्बिमा कम्पनी भने यो साता कारोबार रकममा पछि परेको छ । नेपाल बैंकको सातभर ७२ अर्ब ८२ करोडको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बिमा कम्पनीको ६१ करोड ७६ लाख, शिखर इन्स्योरेन्सका ५७ करोड ७६ लाख, रिलायन्स लाइफको ४७ करोड ६१ लाख, अरुण काबेली पावरको ३३ करोड ५३ लाख, अरूण भ्याली हाइड्रोपावरको २४ करोड ८ लाख, नेपाल लाइफको २३ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै एनएमबी बैंकको २३ करोड १२ लाख, अपर तामाकोसीको २२ करोड ४९ लाख र कुमारी बैंकको २२ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार पुँजीकरणमा भने नेपाल दूरसञ्चार कम्पनी नै अग्र स्थानमा रह्‍यो । कम्पनीको बजार पुँजीकरण १ खर्ब ६ अर्ब छ । त्यस्तै दोस्रो यो साता नेपाल पुनर्बिमा कम्पनीलाई पछि पार्दै नबिल बैंकको आएको छ ।

नबिल बैंकको बजार पुँजीकरण ८८ अर्ब २५ करोड छ । त्यस्तै नेपाल पुनर्बिमा कम्पनीको बजार पुँजीकरण ८६ अर्ब ४० करोड छ । नेपाल लाइफको ७६ अर्ब २३ करोड, एभरेष्ट बैंकको ६१ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ६० अर्ब २७ करोड, एनएमबी बैंकको ५० अर्ब २५ करोड, नागरिक लगानी कोषको ५७ अर्ब ३९ करोड, एनआईसी एशिया बैंकको ५६ अर्ब २६ करोड, र स्ट्यान्डर्ड चाटर्ड बैंकको ५३ अर्ब २० करोड करोडको बजार पुँजीकरण छ ।

यो साता बजार पुँजीकरणमा नागरिक लगानी कोष ९ स्थानबाट ८ स्थानमा पुगेको छ भने एनआईसी एशिया बैंक र हिमालयन बैंक पछि परेका छन् । हिमालयन बैंक बजार पुँजीकरणमा शीर्ष १० बाट बाहिरिँदा स्टायान्डर्ड चार्टर्ड बैंकको पुनरागमन भएको छ । गत साता नागरिक लगानी कोष शीर्ष १० मा प्रवेश गर्दा चार्टर्ड बाहिरिएको थियो ।